विस्थापितलाई बासको चिन्ता

प्रकाश बराल

बागलुङ — दिउँसो बारीमा काम गर्न गए पनि जैमिनी नगरपालिका–१ का बलराम पौडेलको परिवार सुत्न बागलुङ नगरपालिका–१२ को अमलाचौर पुग्छ । कोरोना संक्रमणको त्रास अझै हटेको छैन । त्यसैले बास पाउन पनि सजिलो छैन । बाढीपहिरोले घर जोखिममा पारेकाले गाउँमा बस्न सकेका छैनन् । त्यसैले अमलाचौरमा अरूकै पालीमा ओत लागेर बिहान काममा फर्कन्छन् ।

विस्थापितलाई बासको चिन्ता

टुनीबोट गाउँका भेषराज पौडेलको परिवार ९ दिनसम्म सरंगेस्थित कालीगण्डकी दूध उत्पादक सहकारीको संकलन केन्द्रमा बसे । मंगलबारदेखि कुस्मीसेरा बजारमा डेरा लिएका छन् । ‘बाहिर खान नमान्ने भएकाले आमालाई बहिनीको घर पठाएको छु, हामी डेरा लिएर बसेका छौं,’ पौडेलले भने, ‘सात घर भत्केका छन्, उनीहरू फर्कने अवस्थामा छैनन्, हामी भने सहज भइदिए फर्कने योजनामा छौं ।’

ग्रामीण सडक खन्दा खसेको बाढीपहिरोले यहाँका ३९ परिवार जोखिममा परेपछि विस्थापित भएका हुन् । सबै घरमा हिलो पसेको छ । कतिको घर पहिरोले भत्काउने अवस्थामा छ । यहाँ पुग्ने सडकमै दर्जनौं पहिरो छन् । यातायातका साधन चल्दैनन् ।

रेडक्रस, उद्योग वाणिज्य संघ, लायन्स क्लब, बैंकर्स एसोसिएसनजस्ता संस्थाले नगद र जिन्सी सहयोग गरेपछि पीडितहरू सार्वजनिक भवन र छिमेकीको पालीमा बस्न सकेका छन् । नगरपालिका र गण्डकी प्रदेश सरकारले मृतकका परिवारलाई राहत बाँडेको छ । यहाँको पहिरोमा दस दिनअघि तीन जनाको ज्यान गएको थियो ।

बडीगाड गाउँपालिका–२ स्थित मध्यपहाडी लोकमार्गबाट दगातुमडाँडा जाने ग्रामीण सडकको पहिरोले चार परिवार विस्थापित छन् । पटकपटक खस्ने पहिरोले यहाँका दुर्गा अर्याल, धनबहादुर घर्ती, जितबहादुर विक र धनबहादुर थापाका ४ घर पुरिएका छन् । उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

ढोरपाटन नगरपालिका–९ को भुजीखोलाको बाढीपहिरोले विस्थापित भएकालाई पनि उस्तै चिन्ता छ । कोही छिमेकीको घरमा बस्छन् । कतिपय ढोरपाटनस्थित आफ्नै गोठमा सरेका छन् । १५ परिवार भने पाल टाँगेर बसेका छन् । ‘खानका लागि चामल, दाल र तेल पाएका छौं तर बस्ने बास छैन,’ लाकुरीबोटका जितबहादुर सुनारले भने, ‘कति दिन विद्यालयको कोठामा बस्ने ?’ सुनारका ८ जनासहित तीन परिवार विद्यालयमा आश्रय लिएर बसेका छन् ।

उनीहरूको घर बगाएपछि केही सम्पत्ति बाँकी छैन । ‘दैनिक झरी परिरहेकाले पालमा पानी चुहिएर भिजिन्छ’ सुकुरदुङकी बिना घर्तीमगरले भनिन्, ‘तीन वर्षको छोरासहित पालमा बस्न थालेको महिनादिन पुग्न लागिसक्यो ।’ भदौ १७ गतेको पहिरोले उनीहरू विस्थापित भएका थिए । तत्काल घर बनाउने अवस्था नभएपछि उनीहरू चित्रा र पाल टाँगेर बसेका हुन् । पीडितलाई ढोरपाटन नगरपालिकाले ६ बोरा चामल दिएको छ । त्यसअघि अन्य दाताले दिएको दुई बोरा चामल दिएका थिए ।

छिमेकीको घरमा आश्रय लिइरहँदा समस्या परेपछि डेढ वर्षको छोरा लिएर ढोरपाटनतिर लागेको स्थानीय लक्ष्मी विकले बताइन् । उनी सामानमाथि छोरा बोकेर पैदलै हिँडिरहेकी थिइन् । पहिरोले ढोरपाटनतर्फ जाने सडक भत्काएको छ । पूरै सडक खोल्न एक महिनाभन्दा बढी लाग्ने नगरप्रमुख देवकुमार नेपालीले बताए । लक्ष्मीका सासू–ससुरा पशुचरनका लागि पहिल्यैदेखि ढोरपाटनमै छन् । चिसो लागेपछि भने माथि बस्न सकिँदैन । त्यति बेला कता बस्ने भन्ने पिरले उनीहरूलाई सताइसकेको छ । सानो बच्चा भएकाले उनी गाउँमै बसिरहेकी थिइन् । पहिरोले घर बगाएपछि बस्ने स्थान नपाएर पाटन उक्लेको लक्ष्मीले सुनाइन् ।

प्रकाशित : आश्विन ११, २०७७ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?