१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पहिरो नपन्छ्याउँदा दाउन्‍नेमा घण्टौंसम्म जाम

नारायण शर्मा

नवलपरासी पूर्व — पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डको विभिन्न ठाउँमा गएको पहिरो नपन्छ्याइँदा यात्रुले सास्ती खेपेका छन् ।  दुम्कीवास–बर्दघाट सडकखण्डको १४ किलोमिटर छिचोल्नै यात्रुले १७ घण्टासम्म कुर्नुपरेको छ ।

पहिरो नपन्छ्याउँदा दाउन्‍नेमा घण्टौंसम्म जाम

राजमार्गमा खसेको पहिरो नपन्छाउँदा र साँघुरो सडकमा जथाभावी ओभरटेक गर्दा दाउन्नेमा लामो जाम लागेको हो ।

‘शुक्रबार साँझ बर्दघाट आइपुगेको हुँ । अहिले बिहान १० बजे बल्ल दुम्कीवास काटेँ,’ बर्दियाको बासगढीबाट काठमाडौं हिँडेका हरि ढकालले भने, ‘राजमार्गमा जाम हटाउने प्रहरी छैन गाडीगाडीको तँछाडमछाडले घण्टौं जाम लाग्ने गरेको छ ।’

केही दिनदेखि लगातार परेको पानीले दाउन्नेको दर्जनौं स्थानमा पहिरो गएको छ । सडकमा बाक्लो हिलो बगेका कारण दुर्घटनाको जोखिम उत्तिकै छ । दाउन्नेमा होटल व्यवसाय गर्दै आएका विष्णु गुरुङ भन्छन्, ‘यहाँ न पहिरो पन्छाउने कोही छ न त जाम नियन्त्रण गर्ने प्रहरी नै । गाडीवालाको एकअर्काेलाई उछिन्ने होडबाजीले गर्दा सडकमा दोहोरो तेहेरो जाम छ । यात्रुले भोग्नुसम्म सास्ती भोगेका छन ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई प्रेम श्रेष्ठले डाँडाबाट बगेको लेदो माटो हटाउन नसकेका कारण घण्टौं जाम भइरहेको जानकारी दिए । ‘सडक नै देखिँदैन, सडकभरि लेदो माटो बगेको छ,’ उनले भने ।

उनले दुम्कीवासदेखि २० किलोमिटरपूर्व चोरमारा र पश्चिमतर्फ चिसापानीसम्म जाम भएको जानकारी दिए ।

दाउन्ने–गैंडाकोट सडक आयोजना प्रमुख सुजन अधिकारीले दोहोरो तेहेरो जामका कारण सडक सफा गर्न डोजरसमेत पठाउन नसकेको दाबी गरे । ‘त्यहाँ पठाउने डोजर पनि बिग्रेको छ अब बनाएर पठाउदैछौँ,’ उनले भने ।

प्रकाशित : आश्विन १०, २०७७ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?