१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वृद्धा हत्याको आरोपमा एक पक्राउ

सम्झना रसाइली

तनहुँ — जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले शुक्रबार एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भीमसेन थापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वृद्धा हत्याको आरोपमा एक पक्राउ

ढकालको हत्या भएको अवस्थामा शुक्रबार बिहान घरभित्रै शव फेला परेको थियो । घटनामा संलग्न रही फरार रहेका शिवलाई व्यास नगरपालिका–२ स्थित सहिदगेटमा हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

ढकालको शव आफ्नै घरभित्र भुइँमा दुवै हात खुट्टा र घाँटीमा कपडाले बाँधेको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । उनको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । ढकालको श्रीमान र बुहारी सोही वडाको स्वाँरामा बस्दै आएका छन् । जेठो छोराको घर पनि नजिकै छ । ‘बिहान ७ बजे ज्वाईंले ती वृद्धाको घरको पिढीँमा दूध राखेर अन्यत्र दूध पुर्‍याउन गएका रहेछन्’, उनले भने, ‘फर्केर आउँदा पनि दूध पिढीँमै र घरको ढोका खुल्ला देखेपछि भित्र पसेर हेर्दा वृद्धाको शव देखेपछि प्रहरीलाई खबर गरेका रहेछन् ।’

घटनास्थलमा कुकुरसमेत परिचालित गरी सूक्ष्म रुपमा अनुसन्धान गर्दा हत्यामा संलग्न रही फरार रहेका व्यक्तिलाई दमौली बजारबाट पक्राउ गर्न सफल भएको र थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।

प्रकाशित : आश्विन ९, २०७७ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?