कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तमादीमा फेरि पहिरो, दुई घर पुरिए

प्रतीक्षा काफ्ले

स्याङ्जा — पहिरोले एकैपटक ९ जनाको ज्यान लिएको तमादीमा बिहीबार राति पुनः पहिरो खसेको छ । राति १ बजेतिर खसेको पहिरोले दुईवटा घर भत्किनुका साथै चारवटा चौपाया मरेको प्रहरीले जनाएको छ ।

तमादीमा फेरि पहिरो, दुई घर पुरिए

‘पहिरो हिजो नै खस्छजस्तो थियो,’ जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले भने, ‘रिस्क मोलेर सुरक्षाकर्मी र स्थानीय हिजोको पहिरो पन्छाउन खटेका थिए । जोखिम भएका ती दुई घरका परिवारलाई अन्यत्रै स्थानान्तरण गरिएकाले मानवीय क्षति हुन पाएन ।’

वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान पनि पहिरोले स्थानीय माया नेपालीको एकै परिवारका नौ जनाको ज्यान लिएको थियो । राति फेरि खसेको पहिरोले राजु खनाल र गिरबहादुर खनालको घर भत्काएको हो ।

भूकम्पले हल्लाएको डाँडामा पटक–पटक डोजर लगाइँदा पहिरो खस्ने गरेको स्थानीय प्रकाश न्यौपानेले बताए । उनका अनुसार उच्च जोखिम रहे पनि स्थानीय त्यहीँ बस्दै आएका छन् । ‘एउटा डाँडा छ, दुईतिरबाट डोजर लगाइएको छ,’ न्यौपानेले भने, ‘सडक चौडा गर्ने भन्दै जहिल्यै डोजर मात्रै लगाइन्छ ।’

वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले वालिङ–भुर्मे–हुवास ग्रामीण सडकका कारण बस्ती जोखिममा परेको बताए । स्थानीयले नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा जोखिमबारे बारम्बार जानकारी गराउँदै आएका थिए ।

प्रकाशित : आश्विन ९, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?