सुस्ताका सय घर डुबानमा- गण्डकी - कान्तिपुर समाचार

सुस्ताका सय घर डुबानमा

नारायण शर्मा

नवलपरासी पूर्व — नवलपरासी पूर्वको सुस्तामा एक सय घर डुबानमा परेका छन् । तीन दिनदेखि परेको पानीले निकास नपाउँदा सुस्ताको थारु टोलाका एक सय घर डुबानमा परेका हुन् ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले दिएको जानकारीअनुसार थारु टोलामा नारायणी नदीको बाढी पसेको हो ।

बाढीले सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र सुस्ता प्रहरी चौकीको केही भाग पनि डुबेको जयसवालले जानकारी दिए ।

थारु टोलाका अधिकांश घरमा ३ फिटसम्म पानी जमेको छ भने घरमा राखिएको अन्नपात भिजेको छ । शुक्रबार बिहानदेखि वर्षा रोकिएकाले पानीको सतह भने केही घट्दै गएको छ ।

नेपाली भूभाग हुँदै सुस्तामा पुग्न नारायणी नदीमा डुंगा तरेर जानपर्ने बाध्यता छ । नारायणीमा पानीको बहाव ४ लाख क्यूसेक प्रतिसेकेन्डभन्दा बढी भएकाले डुंगामा यात्रा गर्नु जोखिमपूर्ण छ । त्रिवेणीस्थित गण्डक (ब्यारेज) पुल हुँदै जान भारतीय सुरक्षाकर्मीले अवरोध गर्ने र लामो बाटो पनि पर्दछ ।

प्रकाशित : आश्विन ९, २०७७ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्

नारायणीले बगायो गैंडा

रमेशकुमार पौडेल

चितवन — लगातारको वर्षापछि नारायणी नदी उर्ल‌ंदा चितवन राष्ट्रिय निकुञ्जका जनावरलाई पनि असर गरेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले गैंडाको एउटा बच्चालाई नारायणीले बगाएको जानकारी दिए ।

‘नदीको भेलले जनावर बग्ने जोखिम रहन्छ । हिजो नारायणी नदी उर्लेको थियो । गैंडाको एउटा तीन–चार वर्षको बच्चा बग्यो भन्ने छ,’ उनले भने । नवलपरासीको पश्चिम बहुवनबाट गैंडाको बच्चा बगेको हो । यसरी बगेका गैंडा भारतीय क्षेत्रसम्म पुग्छन् । नदीमा बगेपछि मर्ने खतरा पनि रहन्छ । ०७४ सालको साउनमा आएको बाढीमा बगेर चितवन निकुञ्जका १० वटा गैंडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले त्यसरी बगेका र ज्यूँदै रहेका गैंडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।

प्रकाशित : आश्विन ९, २०७७ ११:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×