पहिरोले दाउन्‍नेमा करिब १२ सय गाडी अलपत्र 

नारायण शर्मा

नवलपरासी — महेन्द्र राजमार्गको दाउन्‍नेका दर्जनभन्दा बढी स्थानमा गएको पहिरोका करिब १२ सय गाडी अलपत्र परेका छन् । राजमार्गको नवलपरासी खण्डमा पर्ने  लगातारको वर्षात‌्ले पहिरो खसेको खस्यै छ । जसकारण बस, ट्रक, जिप, निजी कार र मोटरसाइकलमा सवार सयौं यात्रु अलपत्र परेका छन् । 

पहिरोले दाउन्‍नेमा करिब १२ सय गाडी अलपत्र 

काठमाडौंबाट नेपालगन्जका लागि १८ यात्रु बोकेर हिँडेको बस पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ना ५ ख ७९४० नम्बरको बस लेदो सहितको पहिरोले पुरिदा एक यात्रुको ज्यान गएको हो । अन्य ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा बिहीबार बिहानैदेखि पूर्वपश्चिम हिँडेका गाडी दाउन्‍नेमा अलपत्र परेका हुन् । पहिरो खसेको स्थानसम्म डोजर लैजाने बाटो नभएका कारण रोकिएका गाडी र यात्रुको उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दाउन्‍नेमा बिहान ११ बजेबाट अलपत्र यात्रु प्रेम बरालले भने, 'पानी खान पाइएको छैन, कतिखेर ज्यान जाने हो भन्ने त्रासमा जंगलमा अलपत्र परेका छौं ।'

प्रहरीले दाउन्‍नेमा गाडी र यात्रुको बिचल्ली नहोस् भनेर दिउँसो २ बजेदेखि दुम्किवास र बर्दघाटमै गाडी रोकीराखेको जानकारी दिएको छ । त्यो समयभन्दा अघि कटेका गाडी र सयौं यात्रु दाउन्‍नेमा अलपत्र परेका हुन् ।


प्रकाशित : आश्विन ८, २०७७ २२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?