मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्‍चालन

अगन्धर तिवारी

पर्वत — पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग बुधबार साँझदेखि एकतर्फी रुपमा सञ्चालन भएको छ । मंगलबारदेखि निरन्तर परेको वर्षापछि पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा खसेको पहिरोले पुरिएपछि अवरुद्ध भएको सडक बुधबार साँझ ५ बजेदेखि एकतर्फी सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्‍चालन

पर्वत ट्राफिकका इन्चार्ज प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काका अनुसार दिनभरको प्रयासपछि साँझ ५ बजे एकतर्फी सडक खुलाइएको हो । ‘वर्षा नरोकिँदा पहिरो झर्नेक्रम नरोकिएर खुलाउन सकिएको थिएन,’ ३ बजेपछि केहीबेर वर्षा रोकिएका कारण एकतर्फी खुलाइएको छ ।’ अहिले पुन: वर्षा सुरु भएकोले अवरुद्ध हुनसक्ने खड्काले बताए ।

पाङको डिलबाट निरन्तर झरिरहेको पहिरो सामान्य वर्षा हुँदा पनि झर्ने भएकोले जुनसुकै बेला अवरुद्ध हुनसक्ने प्रहरी निरिक्षक मनिष श्रेष्ठले बताए । सडक जुनसुकै बेला अवरुद्ध हुनसक्ने भएकोले एस्‍क्‍काभेटर तयारी अवस्थामा राखिएको उनले बताए ।

मंगलबार साँझदेखि कुश्मा आसपासका साथै पर्वत जिल्लाभर ठूलो वर्षा भइरहेको छ । वर्षाका कारण निरन्तर लेदो झरिरहेको स्थानीय होमबहादुर पुनले बताए । यो सडक अवरुद्ध हुँदा धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङसम्मको यात्रामा असर पर्छ ।

प्रकाशित : आश्विन ७, २०७७ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?