कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

वडा विभाजनको माग गर्दै हस्ताक्षर संकलन

प्रतीक्षा काफ्ले

स्याङजा — वालिङ नगरपालिका–१४ का स्थानीयले वडा विभाजनको माग गर्दै हस्ताक्षर संकलन गरेका छन् ।

वडा विभाजनको माग गर्दै हस्ताक्षर संकलन

अन्य वडाको तुलनामा भौगोलिक रुपमा ठूलो र विकट भएको लगायत अन्य कारण देखाउँदै वडा विभाजन गर्न माग गर्दै नगरप्रमुख दिलिपप्रताप खाँणलाई प्रभावित क्षेत्रका एकहजार ६ जनाको हस्ताक्षर तथा भेलाले गरेका निर्णय बुझाएका हुन् ।

साविक वालिङ–१० वडा, थुमपोखरा गाविसको ५ वटा वडा, कालिकाकोट गाविसको ३ वटा वडालाई गाभेर १४ नम्बर वडा कायम गरिएको र सो वडा भौगोलिक रुपले ज्यादै ठूलो भएकाले विकास निर्माणको काम लगायत सरकारी सेवा सुविधामा सरोकारवाला जनताको पहुँच पुग्‍न कठिनाइ भएकाले वडा विभाजन गरि छुट्टै वडा कायम गर्न माग गरिएको वडा विभाजन संयोजन समितिका संयोजक कोपिल खाँणले बताए ।

‘साविक वालिङ १०, थुमपोखरा ९ र कालिकाकोट २ को भौगोलिक क्षेत्रलाई समावेश गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद २ को दफा ५ र ६ को परिधिमा रही हालको वडालाई विभाजन गरी छुट्टै वडा कायम गर्न माग गरेका हौ,’ उनले भने ।

वडाको केन्द्र अपायक स्थानमा रहेको, विकास निर्माणका काममा सम्बन्धित निकायबाट प्राप्त हुने स्रोत भौगोलिक क्षेत्रको आधारमा न्यून तथा अपुग हुन गएको, विकास निर्माणको काममा स्रोत वितरणको समानरुपमा हुन कठिनाई भएको, सरकारी सेवा सुविधाका लागि जनसंख्याको चाप बढी भएको उल्लेख गरिएको छ ।

सम्बन्धित क्षेत्रका स्थानीयले विभिन्न कारणसहित नगरपालिकामा वडा विभाजनको माग गरेकाले नपाबाट अबको प्रक्रिया थाल्ने नगरप्रमुख खाँणले बताए । ‘विभिन्न ८ वटा कारणसहित वडा विभाजन गरी छुट्टै वडा बनाउन स्थानीयले माग गर्नुभएको छ,’ उनले भने, ‘यस सम्बन्धमा अब नगरपालिकाले सम्बन्धित क्षेत्रमै पुगेर बैठक बसाल्ने र बहुमत नागरिकको धारणा जे आउँछ त्यही निर्णय नगरसभामा पेश गर्ने र नगरबाट पारित गर्ने छ ।’

नगरले पारित गरेको निर्णयलाई गण्डकी प्रदेश सभाबाट पारित भएमा केन्द्रमा जाने र केन्द्रले पारित गरेमात्रै वडा विभाजन हुने उनले बताए ।

प्रकाशित : आश्विन ७, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?