कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लमजुङ र गोरखाबासीले अब यातायातसम्बन्धी कामलाई पोखरा धाउन नपर्ने

आश गुरुङ

लमजुङ — लमजुङ र गोरखाका बासिन्दा यातायातसम्बन्धी काम लिएर अब प्रदेश राजधानी पोखरा धाउन नपर्ने भएको छ । सवारीको ब्लुबुक नवीकरण, जाँचपास, रुट परमिटलगायत सेवा जिल्लाबाटै दिन थालिएको छ ।

लमजुङ र गोरखाबासीले अब यातायातसम्बन्धी कामलाई पोखरा धाउन नपर्ने

लमजुङ र गोरखाका बासिन्दालाई यसअघि यातायातसम्बन्धी कामका लागि तनहुँ कटेर पोखरा जानुपर्ने बाध्यता थियो । पछिल्लो समय तनहुँको डुम्रेमा यातायात कार्यालय सञ्चालनमा आए पनि सेवा प्रभावकारी नभएको स्थानीयले गुनासो गर्दै आएका थिए ।

प्रदेश सरकारले दुवै जिल्लाका पूर्वाधार विकास कार्यालयमार्फत आइतबारदेखि यातायात सेवा उपलब्ध गराउन थालेको हो । लमजुङका पहिलो सेवाग्राही यज्ञनारायण श्रेष्ठले पहिले पोखरा गएर सवारीको ब्लुबुक नवीकरण गर्न जाँदा–आउँदा र बास बस्नुपर्दा ५/६ हजार खर्च हुने गरेको बताए । ‘अब घरनजिकै कार्यालय छ । कस्तो सजिलो भयो !,’ उनले भने ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार आफ्नो कार्यालयको एक्सन रुमबाट ‘क्लिक’ गरी पूर्वाधार विकास कार्यालयको यातायात शाखामा आएका सेवाग्राहीको ब्लुबुक नवीकरण रसिद प्रिन्ट गरे । उक्त रसिद कार्यालयप्रमुख सुमन गिरीले सेवाग्राही श्रेष्ठलाई हस्तान्तरण गरे । ‘हामी कार्यालयमा मेकानिकल सुपरभाइजर प्राविधिकको छिट्टै पदपूर्ति गर्छौं । कर्मचारीको पदपूर्तिपछि नयाँ सवारीको दर्ता पनि जिल्लाबाटै हुन्छ,’ उनले भने ।

पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारीले विकट क्षेत्रका नागरिकले आफ्नै जिल्लाबाट यातायातसम्बन्धी सेवा पाउने भएपछि समय र खर्च जोगिने बताए । मनाङबासीले समेत लमजुङबाटै सेवा लिन सक्ने उनको भनाइ छ । पूर्वाधार विकास कार्यालयबाटै ब्लुबुक नवीकरण, सवारी साधन कर संकलन, सवारी जाँचपास, रुट परमिट नवीकरण, सवारी आयकर र पटके रुट परमिटसम्बन्धी सेवा उपलब्ध हुनेछन् ।

भर्चुअल कार्यक्रमबाट सेवा सुरु गर्दै मुख्यमन्त्री गुरुङले जिल्लाबाटै काम हुँदा नागरिकमा संघीयता आएको अनुभूति हुने विश्वास व्यक्त गरे । ‘प्रदेश सरकार कहाँ छ भन्नेलाई हामीले प्रदेश सरकारको अनुभूति गराएका छौं,’ उनले भने, ‘प्रदेश सरकार पूर्वाधार विकास कार्यालय, सिँचाइ कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय, खानेपानी कार्यालयमा छ भनेका छौं ।’ भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले लमजुङ र गोरखामा सेवा विस्तार गर्दै लगिने र नवलपुरमा लाइसेन्स, नामसारीलगायत यातायात व्यवस्थाका सबै सेवा उपलब्ध गराइने बताए ।

प्रकाशित : आश्विन ५, २०७७ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?