२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बुुर्तिबाङमा बल्ल केन्द्रीय बिजुली

प्रकाश बराल

बागलुङ — जिल्लाको सदरमुकाम बागलुङ बजारपछिको दास्रो ठूलो बजार बुुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । ठूलो लगानी र मेहेनतपछि बुर्तिवाङबासीले शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका हुन् । साताअघि प्राथमिक स्वास्थ्य केन्द्रमा बिजुली बालिएकोमा शनिबारबादेखि सर्वसाधारणको घरमा पनि बिजुली बालिएको हो । 

बुुर्तिबाङमा बल्ल केन्द्रीय बिजुली

सदरमुकामदेखि ९० किमी पश्चिमको बुुर्तिबाङमा अघिल्लो वर्षदेखि थालिएको अभियानले मूर्तरुप लिएको ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले बताए । ‘नगरपालिका, दोस्रो ठूलो सहर र पश्चिम क्षेत्रका चार पालिकाको केन्द्र भएपनि अन्धकार थियो,’ उनले भने, ‘उद्योग व्यवसाय गर्न चाहनेले पनि लगानी बाहिर लैजान्थे, अब सहज हुने भयो ।’ अहिलेसम्म वडा १ को सेराबजारस्थित २० किलोवाटको लघु जलविद्युतले साँझपख बिजुली बाल्ने र मोबाइल चार्ज गर्नमात्र पुग्थ्यो ।

हरिचौरमा सब–स्टेसन निर्माण गरेर बुुर्तिबाङ बिजुली पुर्‍याउन सकिएको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए । ‘लकडाउन अघि नै बाल्ने योजना थियो, केही उपकरण ढुवानीले ढिला भयो,’ गोशलीले भने, ‘अब भने ग्रामीण क्षेत्रमा पनि लाइन बिस्तार गर्न सकिन्छ ।’ बंगलादेशमा रोकिएको पावर ट्रान्सफर ल्याएर प्रसारण लाइन बिस्तार गरिएको उनले बताए । हरिचौरको ११ केभी सब–स्टेसनबाट बुुर्तिबाङसम्म ४ सय पोल गाडेर विद्युत पुर्‍याइएको हो । गोशलीका अनुसार बुुर्तिबाङ बजारमा तत्कालै ३ हजार घरमा विद्युतीकरण हुनेछ ।

व्यवसाय सञ्चालन गर्न चाहनेले प्रयोग गर्न पाएका थिएनन् । विद्युत सेवा पुगेपछि सबै खुसी भएका छन् । ‘साना उद्योग चलाउन खोज्नेले लगानी गरेर पनि खेर गएको थियो, अब व्यवसायीलाई बोलाउन सकिने भयो,’ उद्योग वाणिज्य संघ बुर्तिवाङ इकाइ अध्यक्ष चिन्तामणि शर्माले भने, ‘रोजगारी बढाउन पनि बिद्युत उपयोगी हुनेछ ।’

यहाँ ३ वटा रेडियो सञ्चालनमा छन् । सबै लघु जलविद्युतको भरमा थिए । ‘राष्ट्रिय प्रसारणबाट रेडियो चलाउन पाउने भयौं, खुसी लागेको छ,’ ढोरपाटन रेडियोका स्टेसन म्यानेजर छविलाल पाण्डेले भने, ‘पटकपटक रेडियो बन्द गर्नुपर्ने बाध्यता अब हट्छ कि ?’

‘चौबिसै घण्टा अपरेसन सेवा दिन खोजेर पनि विद्युत अभाव खेपेका थियौं,’ स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले भने, ‘अब बिरामीको सेवामा पनि सहज वातावरण बन्ने भयो ।’ उनले विद्युतकै सहायताले शव गृह सञ्चालन पनि सहज हुने बताए ।

जिल्लाको ताराखोला, निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा अझै विद्युत सेवा पुगेको छैन । स्थानीयले बनाएका लघुविद्युतको भरमा बिजुली बालेका छन् । यसअघि सदरमुकामदेखि ५० किमी पश्चिमको गलकोटसम्ममात्र राष्ट्रिय प्रसारण लाइन थियो । प्राधिकरणले बुुर्तिबाङमा पनि सब–स्टेसन निर्माणको योजना बनाएको छ । बुर्तिवाङ बजारबाट पश्चिमतर्फ ५० किमीसम्म विद्युतीकरण गर्नु पर्नेछ । बुुर्तिबाङ हुँदै ढोरपाटनसम्म बिजुली पुर्‍याउन सब–स्टेसन अनिवार्य चाहिने उनले बताए । बुुर्तिबाङस्थित रिनाममा १३२ केभी प्रसारण लाइन र सब–स्टेशन निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको नेपालीले बताए ।

मध्यपहाडी लोकमार्गको छेउका देशभरका १० सहरलाई स्मार्ट बनाउनेमा बुुर्तिबाङ पनि सूचिकृत छ । नयाँ सहरी आयोजनाले पनि यहाँ उद्योग, पर्यटन, कृषि र स्मार्ट सिटीको अवधारणामा काम गरिहरको छ ।

प्रकाशित : आश्विन ४, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?