कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालोपत्रे सडककै बेहाल

पहिरो र हिलोले गोरखाका अधिकांश ग्रामीण सडक ठप्प
हरिराम उप्रेती

गोरखा — बर्खा सकिए पनि जिल्लाका ग्रामीण सडकको यात्रा अझै सहज भएको छैन । पहिरो र हिलोले अधिकांश कच्ची सडक ठप्प छन् । एम्बुलेन्ससम्म चल्ने अवस्था छैन । पक्की सडकमै पनि यात्रा कष्टकर छ । कालोपत्रे उप्किएर दुर्घटनाको जोखिम बढेको छ ।

कालोपत्रे सडककै बेहाल

बराह–ढुङ्गाढे सडकअन्तर्गत ३ किमि खण्ड ६ वर्षअघि कालोपत्र गरिएको थियो । दैनिक दर्जनौं गाडी चल्ने उक्त सडक अहिले कालोपत्र उप्किएर हिलाम्मे छ । ढुङ्गाढे, आहाले, बराहालगायत आठभन्दा बढी ठाउँमा कालोपत्र उप्किएको गोरखा नगरपालिका–४ फिनामका अमृत भट्टराईले बताए । ‘सडक कच्ची हो कि पक्की, छुट्ट्याउन नमिल्ने गरी हिलाम्मे छ,’ उनले भने, ‘मोटरसाइकल र ठूला सवारी पनि चिप्लिने समस्या दोहरिरहन्छ ।’ कालोपत्रका लागि ठेक्का लागेको सडकको काम छिटो सुरु गर्न उनले माग गरे । उक्त सडक भएर भीमसेन थापा, आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकाका स्थानीय आउजाउ गर्छन् ।

गोरखा नगरपालिकाले शनिबारदेखि ठाउँठाउँमा सडक मर्मत गर्न लागेको उपमेयर विनाकुमारी श्रेष्ठले बताइन् । ‘जहाँ–जहाँ अप्ठ्यारो छ त्यहाँ सफा गर्छौं,’ उनले भनिन्, ‘प्रदेश सरकारले सडक कालोपत्रे गर्दै छ, तत्कालका लागि अहिले चल्न मिल्ने बनाउन लागेका हौँ ।’

बाह्रकिलो–बारपाक सडकको कालोपत्र पनि ठाउँ–ठाउँमा उप्किएको छ । मसानेपाटी, चोरकाटेको घुम्तीलगायत दर्जन ठाउँमा खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढेको छ । सातदोबाटो–लुइटेल सडक खण्डको तीन किलोमिटर वन क्षेत्रको विवादले कालोपत्र हुन सकेको छैन । मध्यपहाडी लोकमार्गले उक्त सडक स्तरोन्नतिका लागि प्रक्रिया अघि बढाएको छ । तर तत्काल सवारी सञ्चालन गर्न समस्या देखिएको गोरखा दरौंदी यातायात प्रालिका सञ्चालक समिति सदस्य अञ्जनबाबु खत्रीले बताए । ‘बाटोकै कारणले १२ किलोको बाटो भएर ठाटीपोखरी गाडी पठाउन सकेका छैनौँ,’ उनले भने । ठेक्का लागिसकेको सडकमा तत्काललाई कसरी सवारी चल्न मिल्ने बनाउने भन्ने समस्या रहेको खत्रीले बताए । ‘ठाउँ–ठाउँमा बाटोको ठेक्का खुलेको छ, पहिले दसैंको मुखमा स्थानीय तहले बाटो सफा गर्थे,’ उनले भने, ‘अहिले स्थानीय तहलाई भन्यो, ठेक्का लागेको सडक ठेकेदारले सफा गर्छ भन्छन्, ठेकेदारलाई भन्यो हाम्रा कुरा सुन्दैनन् ।’


कोभिड–१९ का कारण ६ महिना बन्द भएका सवारी बिहीबारबाट चल्न थालेका छन् । तर ग्रामीणसडक हिलाम्मे हुँदा सवारी आउजाउ सकसपूर्ण बनेको व्यवसायी बताउँछन् । ढुङ्गाढे–बुंकोट सडक खण्डको यात्रा निकै कष्टकर रहेको सहिद लखन गाउँपालिका–७ बुंकोटका मोहनबाबु रानाले बताए । गोरखा–भच्चेक, गोरखा–राङरुङ, गोरखा–नाम्जुङ र गोरखा–आरखेत सडक खण्डमा मात्र सवारी सञ्चालन भएको छ । ‘कच्ची सडकमा छिर्ने अवस्था नै छैन,’ दरौंदी यातायात प्रालिका सञ्चालक समिति सदस्य खत्रीले भने, ‘पानी पर्ने क्रम पनि रोकिएको छैन, कच्ची सडकका त धेरै ठाउँमा पहिरो पन्छाउनै बाँकी छ ।’

प्रकाशित : आश्विन ४, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?