१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

तनहुँका सबै पालिका मिलेर आइसोलेसन भवन बनाउँदै

सम्झना रसाइली

तनहुँ — जिल्लाका सबै १० वटै स्थानीय तहको संयुक्त लगानीमा आइसोलेसन भवन निर्माणको काम थालिएको छ । कोरोना संक्रमण फैलिएसँगै संक्रमितको व्यवस्थापनका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा १२ कोठाको आइसोलेसन बनाउन लागिएको हो ।

तनहुँका सबै पालिका मिलेर आइसोलेसन भवन बनाउँदै

गत असार २९ मा जिल्लाका सबै पालिकाको बैठकले कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिदको निर्णय गरेको थियो । तर मेसिन खरिदभन्दा संक्रमितलाई व्यवस्थापन गर्न आइसोलेसन भवन निर्माणमा लागिएको उतिबेला बैठकको अध्यक्षता गरेकी म्याग्दे गाउँपालिका अध्यक्ष माया रानाले बताइन् ।

केन्द्रमा निर्माण हुन लागेको आइसोलेसन भवनको सम्पूर्ण जिम्मा शुक्लागण्डकी नगरपालिकालाई दिइएको छ । करिब ७२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको आइसोलेसन भवनको खर्च व्यवस्थापन ४ नगरपालिका र ६ गाउँपालिका मिलेर गरिने शुक्लागण्डकी नगरप्रमुख किसान गुरुङले बताए ।

‘सुरुमा पीसीआर रिपोर्ट आउन ढिलाइ हुँदा क्वारेन्टाइनमा बस्नेहरु आत्तिएका कारण सबै पालिका मिलेर पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेका थियौ’, उनले भने, ‘मेसिन सञ्चालनमा छुट्टै संरचना, व्यवस्थापन र जनशक्ति आवश्यक पर्ने र पछिल्ला दिनमा रिपोर्ट पनि चाँडै आउन थालेपछि आइसोलेनि निर्माण गर्न लागिएको हो ।’ एक साताअघिदेखि केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।

उनका अनुसार भवन निर्माणका क्रममा लाग्ने लागतमा प्रतिशतको आधारमा पालिकाको सहभागिता हुनेछ । शुक्लागण्डकीको १४ प्रतिशत, व्यास, भिमाद र भानु नगरपालिकाको १२/१२ प्रतिशत, रिसिङ, घिरिङ, म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको ९/९ प्रतिशत र देवघाट गाउँपालिकाको ५ प्रतिशत लागत सहभागिता रहने गुरुङले बताए । भवन निर्माण दशैंअगाडि नै सम्पन्न गरी केन्द्रलाई हस्तान्तरण गर्ने लक्ष्य छ ।

शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र । तस्बिर: सम्झना/कान्तिपुर

केन्द्रमा आइसोलेसन भवन निर्माण भए अन्य बिरामीलाई पनि केन्द्रबाट सेवा लिन सहज हुने श्वासप्रश्वास केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले बताए । उनले भने, ‘कोभिड अस्पताल नभएको हुँदा संक्रमितलाई सीमित एउटै कक्षमा थुनेर राखेको जस्तो भएको छ र अन्य रोगका बिरामीलाई सेवा लिन आउन असहज भएको छ ।’ अहिले केन्द्रमा ५० वेड शय्याको आइसोलेसन कक्ष छ । हालसम्म १७१ जना संक्रमितले केन्द्रबाट सेवा लिएका छन् ।

प्रकाशित : आश्विन २, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?