मुस्ताङी स्याउ पाकिनसक्दै बजारमा- गण्डकी - कान्तिपुर समाचार

मुस्ताङी स्याउ पाकिनसक्दै बजारमा

घनश्याम खड्का

म्याग्दी — पाक्ने र टिप्ने समय नहुँदै मुस्ताङी स्याउ बजारमा आइपुगेको छ । मुस्ताङी स्याउ टिप्ने समय कात्तिक महिना हो । असोज १५ पछि बल्ल स्याउमा गुलियो पस्न थाल्छ ।

मुस्ताङसमेत हेर्ने कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार मुस्ताङमा १ हजार २ सय ४१ हेक्टरमा स्याउखेती हुन्छ । त्यसमध्ये ४ सय ८ हेक्टर उत्पादनशील क्षेत्रफलबाट ५ हजार ७ सय ९३ मेट्रिक टन स्याउ उत्पादन हुन्छ । तर, यस वर्ष स्क्रब (दादे) रोगले स्याउको गुणस्तर र उत्पादन खस्किएको किसान बताउँछन् ।

‘स्याउमा स्वाद परिपक्व हुने बेला भइसकेको छैन तर माग उच्च रहेकाले भदौ तेस्रो सातादेखि नै राम्रो मूल्यमा बजार पठाएका छौं,’ घरपझोङ गाउँपालिका–२ टुक्चेका व्यापारी सुभाष थकालीले भने, ‘अहिले मुस्ताङमा स्याउ उत्पादनमा कमी छ । कोरोनाको डरले व्यापारी पनि धेरै नआएकाले प्रतिस्पर्धा कम छ ।’

मार्फास्थित सरकारी स्याउ बगान शीतोष्ण बागवानी विकास केन्द्रका अनुसार स्याउको बोटमा फुल्ने समयमा भारी हिमपात र पानी परेकाले परागसेचन प्रक्रिया प्रभावित भएकाले फल कम लागेको छ । त्यसमाथि स्क्रब भन्ने रोग देखिएपछि उत्पादकत्व घटेको हो ।

‘स्याउमा फूल लाग्ने बेला हिमपात र वर्षा हुँदा परागसेचन प्रभावित भयो । अनि स्याउको राजधानी मानिने मार्फा, टुक्चे, जोमसोम क्षेत्रमा रोग देखिएपछि फल जुन आकारमा बढ्ने हो, त्यो हुन पाएन,’ केन्द्रका प्रमुख बालकृष्ण अधिकारीले भने, ‘यस वर्ष मुस्ताङी स्याउको गुणस्तर र उत्पादन दुवै घटेको छ । तर सडक र कोरोनाका कारण लागत वृद्धि भई मूल्य भने बढ्ने देखिएको छ ।’


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन मुस्ताङका अनुसार स्याउको जात र स्वादअनुसार कृषकका बारीबाट प्रतिकिलो ८० देखि सय रुपैयाँसम्म टिप्न थालेका छन् । ठूला व्यापारीले बगान नै एकमुष्ट ठेक्का लिने भएकाले खुद्रा मूल्य बढी परेको हो ।

‘बारीमा प्रतिकेजी १ सय रुपैयाँमा खरिद गरेको स्याउ टिप्ने, प्याकिङ गर्ने, ढुवानी गर्ने र मुनाफा जोड्दा पहिलो ग्रेडको स्याउ काठमाडौंमा मैले प्रतिकेजी १ सय ८४ रुपैयाँसम्ममा झारें । ग्रेडअनुसार १ सय ५० सम्म झार्न सकिन्छ,’ स्याउका थोक व्यापारीसमेत रहेका थकालीले भने ।

बागवानी विकास केन्द्रले आफ्नो बगानको स्याउको स्तरअनुसार प्रतिकेजी ५०, ६० र ७० रुपैयाँ मूल्य तोकिएको जनाएको छ । सरकारी बगानमा वार्षिक ३० मेट्रिकटन स्याउ उत्पादन हुन्छ । केन्द्रले स्याउको मदिरा पनि उत्पादन गरी बिक्री गर्छ । केन्द्रका अनुसार स्याउको ब्रान्डी २ हजार लिटर, साइडर ३ सय लिटर र आरुवखडाको वाईन ४ सय लिटर उत्पादन हुँदै आएको छ ।

मुस्ताङमा गोल्डेन डेलिसियस, रेड डेलिसियस, रिचारेड, रोयल डेलिसियससमेत गरी १३ प्रजातिका स्याउ खेती हुन्छ । मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागबेनी, पाक्लिङ, लुप्रा, ताम्बे आदि गाउँमा स्याउको राम्रो खेती गरिन्छ ।

प्रकाशित : भाद्र ३०, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

कालिज फार्ममा पसेको चितुवालाई चितवन लगियो

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका–४ सिङ्गास्थित कालिज फार्ममा पसेको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको टिमले शुक्रबार राति डार्टिङ (बन्दुकबाट सुई हानेर बेहोस बनाउने काम) गरी चितवन लगेको छ ।

हरियाली ग्रुपले पालेको ४ सय बढी चार महिना पुगेका कालिज फार्ममा पसेको चितुवा फलामे तारबार र नाइलन जालीबाट बाहिर निक्लन नसकेपछि चितवनबाट उद्धार टोली झिकाइ चितुवालाई बाहिर निकालिएको हो ।

‘शुक्रबार राति नै चितवनबाट उद्धार टोली आएर कालिज फार्म भित्र रहेको चितुवालाई राति नै आफैले लिएर गएका छन्,’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘जिल्लामा हामीसँग समवन्य भएन ।’

तारजालीले भित्र रहेको चितुवा बाहिर निक्लन पटकपटक तारमा ठोक्किने र चिथोर्ने प्रयास गर्दा घाइते भएको थियो ।

‘चितवन निकुञ्ज अन्तर्गतको बाघ नियन्त्रण विभागबाट आएको उद्धार टोलीले राति ११ बजे फार्मभित्रको चितुवालाई आफैले लिएर गएका हुन्,’ हरियाली समूहका निर्देशक शेरबहादुर केसीले भने, ‘बिहान भर्खरैदेखि हामी फार्म भित्र छिरेर मरेका र जिउँदा कालिज गणना गर्न थालेका छौं । खुल्ला रुपमा छोडेका कालिज गन्न सजिलो छैन, कति खायो यकिन भएको छैन ।’

मीनबहादुर श्रेष्ठको अगुवाइमा स्थानीय कृषक र व्यवसायी मिलेर बेनी नगरपालिका, ४ सिङ्गामा १ सय ६० रोपनी जग्गा भाडामा लिएर हरियाली ग्रुपले करिब १० करोड लगानीमा व्यावसायिक तरकारी खेती, कालिज, कुखुरा, माछा, माहुरी पालन फार्म स्थापना गरेको हो ।

प्रकाशित : भाद्र २७, २०७७ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×