कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुस्ताङी स्याउ पाकिनसक्दै बजारमा

घनश्याम खड्का

म्याग्दी — पाक्ने र टिप्ने समय नहुँदै मुस्ताङी स्याउ बजारमा आइपुगेको छ । मुस्ताङी स्याउ टिप्ने समय कात्तिक महिना हो । असोज १५ पछि बल्ल स्याउमा गुलियो पस्न थाल्छ ।

मुस्ताङी स्याउ पाकिनसक्दै बजारमा

मुस्ताङसमेत हेर्ने कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार मुस्ताङमा १ हजार २ सय ४१ हेक्टरमा स्याउखेती हुन्छ । त्यसमध्ये ४ सय ८ हेक्टर उत्पादनशील क्षेत्रफलबाट ५ हजार ७ सय ९३ मेट्रिक टन स्याउ उत्पादन हुन्छ । तर, यस वर्ष स्क्रब (दादे) रोगले स्याउको गुणस्तर र उत्पादन खस्किएको किसान बताउँछन् ।

‘स्याउमा स्वाद परिपक्व हुने बेला भइसकेको छैन तर माग उच्च रहेकाले भदौ तेस्रो सातादेखि नै राम्रो मूल्यमा बजार पठाएका छौं,’ घरपझोङ गाउँपालिका–२ टुक्चेका व्यापारी सुभाष थकालीले भने, ‘अहिले मुस्ताङमा स्याउ उत्पादनमा कमी छ । कोरोनाको डरले व्यापारी पनि धेरै नआएकाले प्रतिस्पर्धा कम छ ।’

मार्फास्थित सरकारी स्याउ बगान शीतोष्ण बागवानी विकास केन्द्रका अनुसार स्याउको बोटमा फुल्ने समयमा भारी हिमपात र पानी परेकाले परागसेचन प्रक्रिया प्रभावित भएकाले फल कम लागेको छ । त्यसमाथि स्क्रब भन्ने रोग देखिएपछि उत्पादकत्व घटेको हो ।

‘स्याउमा फूल लाग्ने बेला हिमपात र वर्षा हुँदा परागसेचन प्रभावित भयो । अनि स्याउको राजधानी मानिने मार्फा, टुक्चे, जोमसोम क्षेत्रमा रोग देखिएपछि फल जुन आकारमा बढ्ने हो, त्यो हुन पाएन,’ केन्द्रका प्रमुख बालकृष्ण अधिकारीले भने, ‘यस वर्ष मुस्ताङी स्याउको गुणस्तर र उत्पादन दुवै घटेको छ । तर सडक र कोरोनाका कारण लागत वृद्धि भई मूल्य भने बढ्ने देखिएको छ ।’


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन मुस्ताङका अनुसार स्याउको जात र स्वादअनुसार कृषकका बारीबाट प्रतिकिलो ८० देखि सय रुपैयाँसम्म टिप्न थालेका छन् । ठूला व्यापारीले बगान नै एकमुष्ट ठेक्का लिने भएकाले खुद्रा मूल्य बढी परेको हो ।

‘बारीमा प्रतिकेजी १ सय रुपैयाँमा खरिद गरेको स्याउ टिप्ने, प्याकिङ गर्ने, ढुवानी गर्ने र मुनाफा जोड्दा पहिलो ग्रेडको स्याउ काठमाडौंमा मैले प्रतिकेजी १ सय ८४ रुपैयाँसम्ममा झारें । ग्रेडअनुसार १ सय ५० सम्म झार्न सकिन्छ,’ स्याउका थोक व्यापारीसमेत रहेका थकालीले भने ।

बागवानी विकास केन्द्रले आफ्नो बगानको स्याउको स्तरअनुसार प्रतिकेजी ५०, ६० र ७० रुपैयाँ मूल्य तोकिएको जनाएको छ । सरकारी बगानमा वार्षिक ३० मेट्रिकटन स्याउ उत्पादन हुन्छ । केन्द्रले स्याउको मदिरा पनि उत्पादन गरी बिक्री गर्छ । केन्द्रका अनुसार स्याउको ब्रान्डी २ हजार लिटर, साइडर ३ सय लिटर र आरुवखडाको वाईन ४ सय लिटर उत्पादन हुँदै आएको छ ।

मुस्ताङमा गोल्डेन डेलिसियस, रेड डेलिसियस, रिचारेड, रोयल डेलिसियससमेत गरी १३ प्रजातिका स्याउ खेती हुन्छ । मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागबेनी, पाक्लिङ, लुप्रा, ताम्बे आदि गाउँमा स्याउको राम्रो खेती गरिन्छ ।

प्रकाशित : भाद्र ३०, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?