१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लमजुङमा १६ सैनिकसहित २७ जनामा कोरोना पुष्टि

आश गुरुङ

लमजुङ — लमजुङमा आइतबार १६ जना सैनिकसहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लमजुङमा १६ सैनिकसहित २७ जनामा कोरोना पुष्टि

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामध्ये १६ जना नेपाली सैनिकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । उनीहरु सबै सुन्दरबजार नगरपालिका–९, सिउँडीबारस्थित नेपाली सेनाको कृषि तथा व्यवसायिक तालिम केन्द्रमा कार्यरत रहेका नेपाली सेनाको उदिपुरस्थित श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले बताए ।

उनका अनुसार गत भदौ ६ गते पीसीआर परीक्षणका क्रममा उक्त तालिम केन्द्रका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नमुना सामुदायिक अस्पताल सुन्दरबजारको आइसोलेसनमा रहेका २२ जनामध्ये ६ जना कोरोना संक्रमण निको भएर फर्किसकेका छन् । तालिम केन्द्रका २० जना सैनिकमा गत भदौ ६ गते कोरोना पुष्टि भएको थियो । तालिम केन्द्रमा कार्यरत एक सैनिक साउन २९ गते बाग्लुङस्थित घर गएको बेला ज्वरो आउने र खोकी लाग्ने भएर अस्पताल भर्ना भएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

तालिम केन्द्रमा कार्यरत करिब ६० जनालाई पहिलो चरणमा ३० जना र पछिल्लो चरणमा ३० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षण गरिएकामध्ये हालसम्म तालिम केन्द्रका ३७ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कोरोना पुष्टि भएका १६ जनालाई आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार कन्ट्याक्ट ट्रेसिङबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा परीक्षण गरिएकामध्ये तालिम केन्द्रका १६ जना सैनिक, बेंसीसहर नगरपालिका २ घर भइ चितवन मेडिकल कलेजको प्रयोगशालाबाट परीक्षण गरिएका १ जना पुरुष, कन्ट्याक्ट ट्रेसिङबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका सुन्दरबजार नगरपालिका–७ र ९ का ३ जना पुरुष, सुन्दरबजार नगरपालिका–९ का २ जना महिला, होटल क्वारेन्टाइनमा बसी परीक्षण गरिएका सुन्दरबजार–५ र ९ का ४ जना साथै होम क्वारेन्टाइनमा बसेका सुन्दरबजार–९ का एक पुरुष रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले लमजुङमा हालसम्म ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएकाे छ । यसमा १ सय ३९ जना निको भइसकेका छन् । कोरोना संक्रमित अहिले बेंसीसहरको सहजीस्थित सहरी विकास कार्यालयको आइसोलेसन, लमजुङ जिल्ला सामुदायिक अस्पताल, सुन्दरबजारको नमुना सामुदायिक अस्पताल र कृषि क्याम्पसको आइसोलेसनमा रहेका छन् ।

प्रकाशित : भाद्र २८, २०७७ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?