कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सामूहिक कृषिमा लमजुङका ४० किसान

आश गुरुङ

लमजुङ — पूर्वी लमजुङको राइनास नगरपालिका–१, साहिलीटारमा ४० जना कृषक मिलेर भैंसी पालन थालेका छन् । यसअघि नै सामूहिक कागती खेती सुरु गरेका उनीहरूले बाराको जितपुरबाट २० वटा भैंसी ल्याएका हुन् ।

सामूहिक कृषिमा लमजुङका ४० किसान

अब मौरीपालनको योजना थपेका उनीहरूले पाँच सय रोपनीमा सामूहिक कृषि–कर्म गर्दै छन् । यसको अगुवाइ खिला शर्मा घिमिरेले गरेका छन् । ३६ वर्ष पशुसेवा कार्यालयमा काम गरेका उनी गत वर्ष मात्रै सेवानिवृत्त भएका हुन् । उनको योजनामा सबै गाउँले मिसिएका हुन् । ‘हामीले कोरोना संक्रमणको जोखिमबीच कागती खेती गरेका छौं । भैंसी ल्याएका छौं,’ शर्माले भने । उनका अनुसार बाराबाट ल्याइएको भैंसी मुर्रा जातको हो । ‘कोरोना संक्रमण अर्को वर्ष सकिनेछ । सबै भैंसी दुहुना हुनेछन् । दूध बिक्री गर्ने हाम्रो योजना हो,’ शर्माले भने, ‘कोरोना संक्रमण नरोकिए दुहुना बिक्री गर्ने योजना छ ।’

कृषकले कागती मात्रै २ सय रोपनीमा ४ हजार ५ सय बिरुवा रोपेका छन् । करिब २० लाखको लगानीमा गरिएको कागती खेतीका लागि कृषि ज्ञान केन्द्रले १० लाख रुपैयाा अनुदान उपलब्ध गराएको थियो । यसका लागि मसार कागती पकेट सञ्चालक समिति छ । समितिका अध्यक्ष गजेन्द्रराज घिमिरेका अनुसार गोरखा र लमजुङका विभिन्न ठाउाबाट ल्याएर कागती रोपिएको छ ।

भैंसीका लागि भने कुनै अनुदान छैन । ७ लाख ५६ हजार रुपैयाा खर्चेर भैंसी ल्याएका उनीहरूले दिगो कृषि व्यवस्थापन तथा अनुसन्धान सहकारी संस्था गठन गरेका छन् । सहकारीका अध्यक्षसमेत रहेका खिला घिमिरेका अनुसार सहकारीमा ४० कृषकले २०/२० हजार रुपैयाा उठाएका छन् । अहिले भैंसीगोठ निर्माण भइरहेको छ । यसमा करिब ८ लाख खर्च हुने सहकारीका सचिव बलराम घिमिरेले बताए ।

साहिँलीटारसम्म लमजुङको पाउादीबाट सडक जोडिएको छ । बोराङखोलानजिकैसम्म गण्डकी प्रदेश सरकारले सडक पिच बनाउन काम थालेको छ । मध्यपहाडी लोकमार्ग पनि नजिकै भएकाले स्थानीय कृषिकर्ममा आकर्षित भएका हुन् ।

प्रकाशित : भाद्र २४, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?