सामूहिक कृषिमा लमजुङका ४० किसान- गण्डकी - कान्तिपुर समाचार

सामूहिक कृषिमा लमजुङका ४० किसान

आश गुरुङ

लमजुङ — पूर्वी लमजुङको राइनास नगरपालिका–१, साहिलीटारमा ४० जना कृषक मिलेर भैंसी पालन थालेका छन् । यसअघि नै सामूहिक कागती खेती सुरु गरेका उनीहरूले बाराको जितपुरबाट २० वटा भैंसी ल्याएका हुन् ।

अब मौरीपालनको योजना थपेका उनीहरूले पाँच सय रोपनीमा सामूहिक कृषि–कर्म गर्दै छन् । यसको अगुवाइ खिला शर्मा घिमिरेले गरेका छन् । ३६ वर्ष पशुसेवा कार्यालयमा काम गरेका उनी गत वर्ष मात्रै सेवानिवृत्त भएका हुन् । उनको योजनामा सबै गाउँले मिसिएका हुन् । ‘हामीले कोरोना संक्रमणको जोखिमबीच कागती खेती गरेका छौं । भैंसी ल्याएका छौं,’ शर्माले भने । उनका अनुसार बाराबाट ल्याइएको भैंसी मुर्रा जातको हो । ‘कोरोना संक्रमण अर्को वर्ष सकिनेछ । सबै भैंसी दुहुना हुनेछन् । दूध बिक्री गर्ने हाम्रो योजना हो,’ शर्माले भने, ‘कोरोना संक्रमण नरोकिए दुहुना बिक्री गर्ने योजना छ ।’

कृषकले कागती मात्रै २ सय रोपनीमा ४ हजार ५ सय बिरुवा रोपेका छन् । करिब २० लाखको लगानीमा गरिएको कागती खेतीका लागि कृषि ज्ञान केन्द्रले १० लाख रुपैयाा अनुदान उपलब्ध गराएको थियो । यसका लागि मसार कागती पकेट सञ्चालक समिति छ । समितिका अध्यक्ष गजेन्द्रराज घिमिरेका अनुसार गोरखा र लमजुङका विभिन्न ठाउाबाट ल्याएर कागती रोपिएको छ ।

भैंसीका लागि भने कुनै अनुदान छैन । ७ लाख ५६ हजार रुपैयाा खर्चेर भैंसी ल्याएका उनीहरूले दिगो कृषि व्यवस्थापन तथा अनुसन्धान सहकारी संस्था गठन गरेका छन् । सहकारीका अध्यक्षसमेत रहेका खिला घिमिरेका अनुसार सहकारीमा ४० कृषकले २०/२० हजार रुपैयाा उठाएका छन् । अहिले भैंसीगोठ निर्माण भइरहेको छ । यसमा करिब ८ लाख खर्च हुने सहकारीका सचिव बलराम घिमिरेले बताए ।

साहिँलीटारसम्म लमजुङको पाउादीबाट सडक जोडिएको छ । बोराङखोलानजिकैसम्म गण्डकी प्रदेश सरकारले सडक पिच बनाउन काम थालेको छ । मध्यपहाडी लोकमार्ग पनि नजिकै भएकाले स्थानीय कृषिकर्ममा आकर्षित भएका हुन् ।

प्रकाशित : भाद्र २४, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा एकैदिन ७७ जना संक्रमित डिस्चार्ज 

रुपा गहतराज

बाँके — बाँकेबाट बुधबार ७७ जना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा कार्यरत नेपाली सेनाका ५१ जना, भेरी अस्पतालमा कार्यरत एक डाक्टर र दुई नर्स, नेपाल टेलिकमका ८ कर्मचारी र अन्य स्थानीय गरी ७७ जना डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा बस्दै आएका ब्यक्तिहरुमा कोरोनाको कुनै पनि लक्षण नदेखिएपछि १४ दिनमा डिस्चार्ज गरिएको श्रेष्ठले बताए ।

भदौ १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई विभिन्न आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।

बाँकेमा अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितहरुले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् । योसँगै बाँकेबाट कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ९सय १५ पुगेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ७२ पुगेको छ भने तीन सय ५४ जना आइसोलेसनमा उपचारमा छन् । जसमा ५ जना बाहिरी जिल्लाका छन् ।

बाँकेमा कोरोना सक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : भाद्र २४, २०७७ १२:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×