तनहुँका स्थानीय तहहरुले लकडाउनको समय बढाए

सम्झना रसाइली

तनहुँ — कोरोना भाइरस संक्रमण बढेसँगै जिल्लाका स्थानीय तहहरुले लकडाउनको समय लम्बाएका छन् । 

तनहुँका स्थानीय तहहरुले लकडाउनको समय बढाए

कन्ट्याक ट्रेसिङमार्फत गरिएको पीसीआर परीक्षणमा समुदायकै व्यक्तिहरुमा भाइरसको पुष्टि भएपछि जिल्लाको व्यास नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाले लकडाउनको समयसीमा बढाएका हुन् । अन्य देश तथा बहिरी जिल्लामा भ्रमण विवरण नभएका समुदायमा पनि कोरोना भाइरस पोजिटिभ देखिएपछि व्यासले भदौ १२ गते रातिको १२ बजेसम्म लकडाउन लम्बाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयद्वारा भदौ १ गते दिउँसो १२ देखि भदौ ७ गते दिउँसो १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

संक्रमणको जोखिमलाई न्युनिकरण तथा रोकथामका लागि भन्दै आँबुखैरेनीले भदौ १ देखि ७ गतेसम्म जारी गरेको लकडाउन भदौ १४ गतेसम्म पुर्‍याएको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले, ‘प्रदेश नाका पनि भएको हुँदा मानिसहरुको चहलपहल पनि अलि बढी नै हुन्छ । भिडभाडमा संक्रमणको उच्च जोखिम हुने भएकाले लकडाउन लम्ब्याएका हौं ।’

यस्तै बन्दीपुरले पनि भदौ १२ गतेसम्म लकडाउन लम्बाएको छ । यसअघि साउन ३० गतेबाट भदौ ५ गतेसम्म गाउँपालिका लकडाउन थियो । संक्रमित व्यक्तिहरुसँगको कन्ट्याक ट्रेसिङ गरी स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइए पनि रिपोर्ट आउन बाँकी रहनुका साथै समुदायमा त्रास रहेकोले लकडाउन लम्ब्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

यस्तै, जिल्लाको भानु नगरपालिकामा भदौ १४ गतेसम्म, देवघाट गाउँपालिकाकाको वडा नं. ५ क्षेत्रमा भदौ १० गतेसम्म, भिमाद र शुक्लागण्डकी नगरपालिकामा भदौ १० गतेसम्म र म्याग्दे गाउँपालिकामा भदौ १२ गते राति १२ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित : भाद्र ७, २०७७ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?