कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पीसीआर रिपोर्ट नेगेटिभ आउँदा पनि वडाध्यक्षले नजरबन्द गरेको भन्दै कारबाहीको माग

सम्झना रसाइली

तनहुँ — कोरोना भाइरस (कोभिड–१९) को परीक्षणपश्चात् रिपोर्ट नेगेटिभ आउँदा पनि नजरबन्द गराई सामाजिक बहिष्कार गरिएको भन्दै स्वास्थ्यकर्मीहरूले कारबाहीको माग गरेका छन् । वडाध्यक्ष र टोल सुधार समिति अध्यक्षले सामाजिक बहिष्कार र नजरबन्द गरेको भन्दै स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि निवेदन दिएका हुन् । 

पीसीआर रिपोर्ट नेगेटिभ आउँदा पनि वडाध्यक्षले नजरबन्द गरेको भन्दै कारबाहीको माग

तनहुँको भानु नगरपालिकाका स्वास्थ्यकर्मीहरूले अनमी अञ्जना अधिकारी र उनको परिवारलाई नजरबन्दमा राखिनुका साथै सामाजिक बहिष्कार गरिएको भन्दै कारबाही गरिपाउँ भनेर बिहीबार प्रशासनमा उजुरी दिएका हुन् ।

नगरपालिकाका ओभरसियर सञ्जिव अधिकारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनी र उनी बस्दै आएको अनमी अञ्जना अधिकारीको परिवारलाई विगत ५ दिनदेखि घरमै नजरबन्द गरिएको छ । अञ्जना र सञ्जिव दिदीभाइ हुन् ।

जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्यकर्मीले बुझाएको निवेदनमा नगरपालिकाबाट गराइएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएर भानु–११ रुपाकोट स्वास्थ्य चौकीकी अनमी अञ्जना अधिकारीको घरमा बस्न गएका सञ्जिवसहित स–परिवारलाई विगत ५ दिनदेखि घरबाट बाहिर ननिस्कन उर्दी जारी गर्दै नजरबन्दमा राखिएको उल्लेख गरिएको छ ।

कोरोना रिपोर्ट नेगेटिभ आएको व्यक्ति साथै स्वास्थ्यकर्मी अञ्जना र निजको परिवारप्रतिको दुर्व्यवहारप्रति खेद प्रकट गर्दै उक्त घटनामा संलग्न टोल सुधार समितिका अध्यक्ष शालिकराम अधिकारी र भानु– ११ का वडाअध्यक्ष तारानरेश पौडेललाई कारबाहीको माग गरिएको छ ।

यस्तै, कोरोना रिपोर्ट नेगेटिभ आएपनि स्वाब संकलन पश्चात कोरोना पोजेटिभ आएका अर्का कर्मचारीसँगै बसेको हुँदा सञ्जिवलाई सुरक्षित भई घरभित्रै बस्न लगाइएको वडाअध्यक्ष पौडेलले प्रष्टिकरण दिएका छन् । ‘सँगै स्वाब संकलन गरेको उनको साथीको रिपोर्ट पोजेटिभ आयो र सञ्जिवको रिपोर्ट नेगेटिभ आयो, स्वाब संकलन पछि उनीहरू सँगै बसेका थिए,’ वडाअध्यक्ष पौडेलले भने, ‘सँगै बसेको समयमा कतै संक्रमण भयो कि भनेर पुनः पीसीआर परीक्षण गरिने कुरा हुँदै थियो । वडालाई नसोधी अनमीको घरमा आएर बसेका रहेछन् र सबैसँग घुलमिल पनि भएका रहेछन् । स्वास्थ्यकर्मी भएकाले बिरामीलाई छुनु पर्छ । यदि संक्रमण भइसकेका छन् भने अरुलाई पनि सर्छ भनेर उनीहरूलाई घरमै सुरक्षित बस्न भनिएको हो । नजरबन्द र सामाजिक बहिष्कार गरिएको होइन ।’

उक्त घटनाबारे छानबिन गरिरहेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । उनले भने, ‘यदि कोरोना रिपोर्ट नेगेटिभ आएतापनि नजरबन्द र सामाजिक बहिष्कार गरिएको रहेछ भने कानुन बमोजिम जोकोहीलाई पनि सजय हुनेछ ।’

प्रकाशित : भाद्र ४, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?