२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बाढीपहिरोले कालीगण्डकी करिडोर प्रसारण लाइन तीन महिना धकेलियो

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको कुस्मा–खुर्कोट सबस्टेसन जोड्ने २२० केभीए प्रसारण लाइनको काम बाढीपहिरोले तीन महिना पछि धकेलिएको छ । यससँगै कालीगण्डकी करिडोरअन्तर्गत थापाखोलाको १३.६ र घलेम्तीको ५ गरी १८.६ मेगावाट विद्युत् पनि खेर जाने भएको छ ।

बाढीपहिरोले कालीगण्डकी करिडोर प्रसारण लाइन तीन महिना धकेलियो

१७ वटा टावर बाढीपहिरोले बगाएकाले तिनलाई फेरि बनाउन र जोखिममा रहेका टावर संरक्षण गर्न थप ३ महिना लाग्ने कालीगण्डकी करिडोर २२० केभिए प्रसारण लाइन बेनी आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पहिरोले पर्वतको जलजला गाउँपालिकाको धाइरिङस्थित टावर पहिरोले ढलाएको छ । त्यसै गरी जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अरू टावर कालीगण्डकीको कटानले उच्च जोखिममा छन् ।

‘एउटा टावर ढल्दा दुई करोडभन्दा बढी आर्थिक क्षति पुगेको छ । ढलेको पोलको स्थान परिवर्तन गर्न सर्भे भई कुन–कुन पार्ट पुनः प्रयोग गर्न सकिन्छ इस्टिमेट भइरहेको छ,’ आयोजनाका सहायक प्रबन्धक यादव न्यौपानेले भने, ‘नदी कटान र पहिरोको जोखिममा परेका पोलको तत्काल संरक्षण नगरे थप समस्या पर्ने भएकाले नयाँ टेन्डर प्रक्रियामा गएका छौं । ढलेको पोलको सट्टामा अर्को पोल प्रयोग गर्न सकिने विषयमा पनि अध्ययन भइरहेको छ ।’

ढलेको पोललाई गलेश्वरनजिकै बन्ने ‘लिलो लाइन’को पोलले रिप्लेस गर्ने प्रस्ताव ठेकेदार कम्पनीले पेस गरेको आयोजनाले जनाएको छ । लिलो लाइन भनेको गलेश्वरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्लाई २२० केभिए प्रसारण लाइनमा जोड्न बनाइने ‘लिंक लाइन’ हो ।

चौथो पटकको म्याद मार्च ३० तारेखमै सकिएको आयोजनाले लकडाउनका कारण मदजुर तथा प्राविधिक घर गएकाले काममा प्रभाव परेको जनाएको छ । ठेकेदार कम्पनीले उपलब्ध करिब १ सय १० मजदुरबाट दाना र कुस्मा सब–स्टेसनमा फिनिसिङको काम भइरहेको जनाएको छ ।

लकडाउनका कारण घर फर्केका भारतीय प्राविधिक जनशक्ति अझै फर्कन पाएका छैनन् । आयोजनाको दाना र खुर्कोट सबस्टेसनमा रहने ट्रान्सफर्मर, सर्किट ब्रेकर, कन्ट्रोल एन्ड रिले प्यानल, सबस्टेसन अटोमेसिन सिस्टमसमेतका मुख्य उपकरण परीक्षण गर्ने इन्जिनियर सबै भारतीय छन् ।

‘उपलब्ध जनशक्ति परिचालन गरेरै पनि तीन महिनाभित्र पहिरोले ढलाएको पोल परिवर्तन गरेर लाइन जोड्न तयारी हुन सक्छौं । तर भारतीय प्राविधिक र उनीहरूले ल्याउने केही इक्युपमेन्ट नआएको खण्डमा समय लम्बिन पनि सक्छ,’ आयोजनाका बेनी कार्यालयमा रहेका सहायक प्रबन्धक न्यौपानेले भने ।

आयोजनाको काममा अहिले आर्थिकतर्फ ९७ प्रतिशत र भौतिक तर्फ ९९ प्रतिशत प्रगति रहेको कार्यालयले जनाएको छ। विद्युत् प्राधिकरणले दाना र खुर्कोट २२०/१३२/३३/११ केभीए कालीगण्डकी करिडोर प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न भारतीय टाटा र चिनियाँ चिन्टको संयुक्त टाटाचिन्ट जेभी ठेकेदार कम्पनीलाई २ अर्व ९० करोडमा ठेक्का दिएको थियो । सन् २०१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी २०१६ मे ३० मा सम्झौता भएको हो । तर एक वर्ष म्याद थप्दा पनि कम्पनीले काम पूरा गर्न सकेन ।

कालीगण्डकी करिडोर, म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधार आयोजना र बागलुङका विभिन्न आयोजनाबाट उत्पादित बिजुली खुर्कोट–बर्दघाट खण्डको प्रसारण लाइनमा जोड्ने विद्युत् प्राधिकरणको योजना छ ।

सब–स्टेसन ढिलाइले विद्युत् अलपत्र

दाना सबस्टेसन निर्माणमा ढिलाइ हुँदा म्याग्दी र मुस्ताङमा उत्पादित ८ मेगावाट विद्युत् खेर गइरहेको छ । थापाखोलाको १३.६ मध्ये ५ मेगावाट र घलेम्दी जलविद्युत्को ५ मेगावाट केन्द्रीय ग्रिडमा जोड्ने ठाउँ नहुँदा अलपत्र परेको हो ।

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणपछि मिस्त्रीखोला राहुघाट ४२ मेगावाट, घारखोला १४ मेगावाट, कालीगण्डकी अपर ६४ मेगावाट, कालीगण्डकी गर्ज १४६ मेगावाट, नीलगिरि ३८ मेगावाट, कोवाङ–कालीगण्डकी ४ सय ५० मेगावाट बिजुली जोड्ने योजना छ । त्यसै गरी माथिल्लो राहुघाटको ४८ दशमलव ५ मेगावाट, कालीगण्डकी माथिल्लोको ७२ मेगावाट र दरवाङ खोलाको २५ मेगावाट विद्युत् कालीगण्डकी करिडोर प्रसारण लाइनमा जोडिनेछ ।

प्रकाशित : श्रावण ३०, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?