भानु नगरपालिकाको वडा नम्बर १ मा एकैदिन २० जनामा कोरोना संक्रमण

सम्झना रसाइली

तनहुँ — भानु नगरपालिकाको वडा नम्बर १ मा एकैदिन २० जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको पीसीआर रिपोर्टमा भानु नगरपालिका वडा नम्बर १ का १४ पुरुष र ६ महिला गरी २० जनामा कोरोना पोजिटिभ देखिएको हो ।

भानु नगरपालिकाको वडा नम्बर १ मा एकैदिन २० जनामा कोरोना संक्रमण

कोरोना भाइरसको संक्रमण हुनेहरुमा २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८ र ३५ वर्षका पुरुष र ५, ३१, २८, ३०, ५६ र ३७ वर्षका महिला रहेको जनाइएको छ । संक्रमण हुनेमा भानु–१ भन्सारका वर्कसप, मासु व्यवसायी र स्थानीय व्यक्ति रहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।

पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा तनहुँका २० र स्याङ्जाका एक गरी थप २१ जनामा कोरोना पुष्टि भएको गण्डी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

‘गत सोमबार २ जनाको रिपोर्ट पोजिटिभ आएपछि कन्टयाक ट्रेसिङमार्फत १२२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो’, उनले भने, ‘यसमध्ये ८४ जनाको रिपोर्ट आएकोमा २० जनाको पोजिटिभ र बाँकीको नेगेटिभ देखियो ।’ अझै ३८ जनाको रिपोर्ट आउन बाँकी नै छ ।

कोरोना संक्रमण बढ्दै गएपछि साउन ६ गतेदेखि भदौ २ गतेसम्म नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ ।

बन्दीपुरका तीन वडामा अत्यावश्यक बाहेकका सेवा बन्द

भानु नगरपालिका–१ मा शुक्रबार २० जनामा कोरोना देखिएसँगै बन्दीपुर गाउँपालिकाका तीन वटा वडा बन्द गरिएको छ । बन्दीपुरको वडा नम्बर १, ४ र ५ मा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको हो ।

छिमेकी नगरपालिकामा कोरोना देखिएपछि आफ्नो गाउँपालिकाका यी वडा क्षेत्र साउन ३० देखि भदौ ५ गतेसम्मका एक साताका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । उनले भने, ‘अत्यावश्यक सेवा र वस्तुबाहेक सम्पूर्ण बजार, उद्योग व्यवसाय, बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’

जिल्लामा पछिल्लो समयमा भानु नगरपालिकामा २१ जना, बन्दीपुर गाउँपालिकामा एक जना र देवघाट गाउँपालिकामा २ जना गरी २४ जनामा कोरोना देखिएको छ । यस्तै, हालसम्म जिल्लामा २११ जनामा कोरोना भाइरस पोजिटिभ देखिएकोमा १८० जना निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?