१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मनाङ जान फड्के र भर्‍याङ

बाढीले बाटै बगाएपछि केही समययता बेंसीसहर–चामे सडकमा यातायात साधन चल्न सकेका छैनन् ।  स्थानीय जोखिम मोलेर आउजाउ गर्छन् ।
आश गुरुङ

लमजुङ — वारिपारि दुवैतिर ढुंगा । ढुंगाको चिप्लेटी मात्रै बाँकी राखेर बाढीपहिरोले बाटै बगाइदिएको छ । रूखबिरुवासमेत बाँकी रहेनन् ।

मनाङ जान फड्के र भर्‍याङ

हिमाली जिल्ला मनाङ जोड्ने एउटै बाटो हो बेंसीसहर–चामे सडक । लमजुङस्थित घोप्टेखोलाले सडक बगाएपछि अहिले सवारी आवागमन ठप्प छ । मानिस आउजाउ गर्न स्थानीयले ढुंगामा काँटी ठोकेर उत्तीसको काठ तेर्स्याएका छन् । कहिलेकाहीँ भर्‍याङ बनाएर वारपार गर्ने गरिएको छ । त्यही भर्‍याङ पनि बाढीले बगाउने गरेको छ ।

मर्स्याङ्दी गाउँपालिका–४, ताघ्रिङको घोप्टे र काप्रेभीरको बीचमा पर्ने घोप्टेखोलामाथिको फड्केमा स्थानीय आफैं पहरा दिएर बटुवाहरूलाई वारपार गराउने गरेका छन् । ‘बाटो सबै बाढीपहिरोले लगेको छ । नहिँडौं भने नहुने । हिँडौं भने खसेर मर्स्याङ्दीमा पुग्ने डर,’ मर्स्याङ्दी गाउँपालिका ४, च्याम्चेका ७० वर्षीय बलबहादुर तामाङले भने, ‘धन्न यहाँका मान्छेले तारिदिए । हामीमात्रै त कहाँ सक्नु र ?’ मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार अहिले यो बाटो १/२ जना मात्रै हिँड्ने अवस्था छैन । एउटा नतरुन्जेल अर्कोले भर्‍याङ समाइदिनुपर्छ । ‘भर्‍याङबाट चिप्लिए खोलामा हो । खोलाले बगाएपछि मर्स्याङ्दीमा हो । निकै जोखिम मोलेर बेंसीसहरबाट चामे पुगियो,’ उनले भने ।

मर्स्याङ्दी–४ का वडाध्यक्ष सुमन गुरुङका अनुसार पहिरोले सबै खोतलेर लगेको छ । मानिस ज्यानको बाजी राखेर हिँड्न बाध्य छन् । ‘करिब ६०/७० मिटर तल मर्स्याङ्दीको ठूलो भेल छ । एक पाइला मात्रै तलमाथि भयो भने मानिस बाँच्दैन । नहिँड्न भनेका छौं,’ उनले भने । बेलिब्रिज राख्न वडा र गाउँपालिकाले पहल गरिरहेको उनले जानकारी दिए ।

बेंसीसहर–चामे सडक बनेपछि सिंगो मनाङ जिल्लासँगै उत्तरी लमजुङका बासिन्दालाई सहज भएको थियो । बर्खायामको बाढीपहिरोले स्थानीयलाई सधैं समस्यामा पारेको डुम्रे–बेंसीसहर–चामे सडक योजनाका सब–इन्जिनियर सुमन अधिकारीले बताए । उनका अनुसार बेंसीसहरदेखि करिब १९ किलोमिटर परको घोप्टे खोलामा अहिले समस्या छ । ‘घोप्टेखोलामा बेलिब्रिज राख्ने तयारी गरिरहेका छौं । केही दिनमै काम सुरु हुन्छ,’ उनले भने ।

नेपाली सेनाले ट्र्याक खोलेको ७ वर्षअघि २०६९ मा सरकारलाई हस्तान्तरण गरेको सडक समय–समयमा मर्मत पनि हुँदै आएको छ । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सडक बनाउँदा भिरालो ठाउँमा जथाभाबी विस्फोट गराइएको र डोजर चलाइएकाले अहिले समस्या परेको बताए । ‘हामीले पछिल्लो समय डोजर चलाएका छैनौं । तर, पहिले जथाभावि डोजर चलाउने र बम पड्काइँदा समस्या पर्‍यो,’ उनले भने ।

बेंसीसहर–चामे सडकको बेंसीसहरदेखि म्यार्दीसम्म लमजुङ खण्ड ३५ किलोमिटर र म्यार्दीदेखि चामेसम्म मनाङ खण्ड ३० किलोमिटर छ । मनाङ खण्डको म्यार्दीदेखि सिरानताल, धारापानी क्षेत्रमा बर्सेनि पहिरो खस्ने गरेको छ । तालडाँडा क्षेत्रमा माथिबाट ठूलोठूलो ढुंगा खस्ने समस्या रहेको नासों गाउँपालिका १ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताए । ‘बाढीपहिरोका कारण बाटो बन्द हुने गरेको छ । बाटो बन्द हुँदा बिरामीले निकै दुःख पाएका छन्,’ उनले भने ।

लमजुङतर्फ च्याम्चे, स्याँगे, काप्रेभीर, अर्खले, खुदी–भुलभुले साथै बेंसीसहरनजिकैको उत्तीसघारी खरखरे, बेलौती बिसौनालगायत क्षेत्रमा बाढीपहिरोले सडक छियाछिया बनाएको छ । ट्र्याक खोलिए पनि सडकको स्तरवृद्धि हुन नसकेको स्थानीयले बताएका छन् ।

प्रकाशित : श्रावण ३०, २०७७ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?