तनहुँको भानु नगरपालिका एक हप्ताका लागि बन्द

सम्झना रसाइली

तनहुँ — जिल्लाको भानु नगरपालिकाको समुदायमा कोरोना भाइरस संक्रमण पृष्टि भएपछि नगरपालिका एक हप्ताका लागि बन्द गरिएको छ । 

तनहुँको भानु नगरपालिका एक हप्ताका लागि बन्द

जिल्ला बाहेकको भ्रमण विवरण नभएका समुदायका २ जनामा कोरोना पोजिटिभ देखिएपछि नगरपालिका एक हप्ताका लागि बन्द गरिएको हो ।

समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि कोभिड १९ को जोखिम न्यूनिकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा एक साताको लागि बन्द गरिएको सूचना अधिकारी सुनील पाण्डेले बताए ।

नगरपालिकाका केही क्षेत्रमा प्रतिनिधिमूलक रुपमा नमुना संकलन गरी गरिएको परीक्षणमा सोमबार भानु–१ का ३४ वर्षीय र बन्दीपुर गाउँपालिका–५ का ३४ वर्षीय गरी २ पुरुषमा संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्तिहरुको जिल्ला बाहेकको भ्रमण विवरण नभएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।

स्वास्थ्य शाखा प्रमुख भट्टराईले भने, ‘भानुका संक्रमित पुरुषको स्वास्थ्यमा केही समस्या देखिएपछि अहिले जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनबाट गण्डकी अस्पताल पोखरा पठाइएको छ ।’ नगरपालिकाले संक्रमित पुष्टि भएका व्यक्तिको कन्ट्याक ट्रेसिङका आधारमा १२४ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा पठाएको जनाएको छ ।

यस्तै, बन्दीपुर गाउँपालिकाले वडा नं. ५ मा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएपछि आँधीखोलादेखि गोहोरे चौतारा थुम्का र मर्स्याङ्दी नदीसम्मको क्षेत्रमा अत्यावश्यक कार्यबाहेक कुनै पनि काम नगर्न नगराउन अनुरोध गरेको छ ।

कोरोना संक्रमितको कन्टयाक्ट ट्रेसिङ सहज गर्नका लागि सोमबारदेखि बिहीबारसम्म उक्त ठाउँमा काम गर्न बन्द गरिएको गाउँपालिकाका प्रवक्ता ध्रुवप्रसाद लामिछानेले बताए ।

त्यस्तै, जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले कोरोना संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना देखिदा संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम मंगलबारदेखि भदौ २ गतेसम्म भानु नगरपालिका क्षेत्रमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

प्रकाशित : श्रावण २७, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?