कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

उत्खननले दरौंदी गहिरिँदा स्थानीयका खेत सुक्खा

दरौंदीको पानी कुलोमा चढ्न छाडेपछि गोरखा नगरपालिका–१० र ११ को झन्डै १७ सय रोपनी धानबालीमा सिँचाइ अभाव
हरिराम उप्रेती

गोरखा — जब रात पर्छ, दरौंदी नदीमा एक्स्काभेटर, ट्रिपर र ट्याक्टरको चहलपहल बढ्न थाल्छ । अवैध उत्खननमा संलग्नहरूले मध्य साउनमा पनि नदी खोतल्न छाडेका छैनन् ।

उत्खननले दरौंदी गहिरिँदा स्थानीयका खेत सुक्खा

प्रशासन, प्रहरी र जनप्रतिनिधिकै मिलेमतोमा नदीजन्य सामग्री चोरीनिकासी भइरहेको स्थानीयको आरोप छ । मापदण्डअनुसार झोलुङ्गे पुल, सिँचाइका संरचनाआसपास उत्खनन गर्न पाइँदैन । गण्डकी प्रदेश सरकारको कार्यविधिले पनि असार १ देखि भदौ १५ सम्म नदीबाट गिट्टीबालुवा निकाल्न रोक लगाएको छ ।

तर, कार्यविधिविपरीत साउनमै ठुटे बजारस्थित झोलुङ्गे पुलछेउमै नदीजन्य सामग्री उत्खनन भइरहेको छ । दुई सातायता गोरखा नगरपालिका–१० ठुटे बजारमा भइरहेको यो अवैध कार्यप्रति प्रशासन र जनप्रतिनिधि भने बेखबरझैं छन् ।

जथाभाबी उत्खननको प्रत्यक्ष प्रभाव स्थानीयको खेतमा परेको छ । नदीको सतह कुलोबाट ४ मिटर गहिरिँदा उनीहरूको खेतमा पानी चढ्नै छाडेको छ । बाढीले बाँधसमेत भत्किएको छ ।

परम्परागत कन्येढाप–झोलुंगेपुल कुलोमा पानी नचढ्दा झन्डै १७ सय रोपनी क्षेत्रफलको धानबालीमा सुक्खा लागेको छ । गोरखा नगरपालिका–१० र ११ का धान खेतले पानी नपाउँदा किसान निराश छन् ।

राति ११ देखि ३ बजेसम्म नदीजन्य सामग्रीको चोरी–निकासी हुने गरेको गोरखा नगरपालिका–१० का सुरजमान कुमालले बताए । ‘ट्याक्टर र ट्रिपरको आवाजले रातभर सुत्न पाइँदैन,’ उनले भने, ‘चोरी निकासी कसले राक्ने हो ? हाम्रा खेतमा सुक्खा लाग्यो, हामीले भनेको कसैले सुन्दैनन् ।’ करिब ८ रोपनी साहुको जग्गा अधियामा कमाइरहेका उनलाई यसपालि कुलोबाट पानी नचढेकैले धानखेती मासिने चिन्ता छ ।

तीन सातायता खेतमा पानी लगाउन नपाएको गोरखा नगरपालिका–११ का कृष्णप्रसाद ढकालले बताए । ‘रोपाइँ गर्ने बेलासम्म जेनतेन पानी कुलोमा उक्लिएको थियो, साउन पहिलो साताको भेलले बाँध भत्कायो, त्यसपछि बाँध बाँध्न प्रयोग भएका ढुंगा रातभर चोरेर सके,’ उनले भने, ‘पानी नभएर रोपो नै उठ्न सकेन ।’


किसानको गुनासो सम्बोधन गर्न मोटर खरिद गरी तत्कालका लागि वैकल्पिक सिँचाइको पहल भइरहेको गोरखा नगरपालिका–११ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । उनका अनुसार जथाभाबी उत्खनन रोक्न स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।

बर्खाका तीन महिना नदी क्षेत्रमा यसरी उत्खनन गर्न नमिल्ने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । ‘सूचना पाएका छौँ, निगरानी पनि भइरहेको छ, यस विषयमा नगरपालिकासँग बसेर छलफल गर्नुपर्छ,’ उनले भने ।

नजिकैको बाह्रकिलो प्रहरी चौकीलाई अवैध उत्खनन भइरहेको जानकारी रहे पनि रोक्न पहल नगरेको स्थानीयले आरोप लगाएका छन् । बर्खाको समयमा नदीजन्य पदार्थ उत्खननको अनुमति नै नदिइएको जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ बताउछन् । ‘ढुंगागिट्टी झिकिरहेका छन् भन्ने हामीले पनि सुन्यौँ तर अनुमति दिएका छैनौँ,’ उनले भने, ‘बर्खाका बेला अनुमति दिन पनि मिल्दैन ।’

प्रकाशित : श्रावण २६, २०७७ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?