१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बेनी–जोमसोम सडक एक महिनादेखि अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — बाढीपहिरोले कटान गरेपछि बेनी–जोमसोम सडकको गलेश्वर–लेते ४० किलोमिटर खण्डमा एक महिनादेखि यातायात सेवा अवरुद्ध छ । गत असार २६ मा राहुघाट खोलामा आएको बाढीले गलेश्वरस्थित बेलिब्रिज ढलाउनुका साथै दर्जनभन्दा बढी स्थानमा पहिरोले सडक बगाएको थियो ।

बेनी–जोमसोम सडक एक महिनादेखि अवरुद्ध

पहिरो र बाढीले सडकमा क्षति पुर्‍याएपछि रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा हिमालपारिको मुस्ताङ यातायातबाट विच्छेद छ । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार अहिले गलेश्वरदेखि दानासम्म करिब २७ किमि सडकको विभिन्न खण्डमा झरेको पहिरो पन्छाएपछि मिनी ट्रकसम्म चल्न सक्ने गरी सडक खुलेको छ । त्यसैगरी मुस्ताङतर्फबाट माथि लेतेदेखि तल बाँदरजुँग भीरसम्म ८ किमि सडकमा पनि ट्र्याक खुलेको छ ।

‘बाढीले ढलाएको बेलिब्रिजलाई जस्ताको त्यस्तै उठाएका छौं । पुलको संरचनामा क्षति नपुर्‍याएकाले उठाउन सकियो,’ आयोजना प्रमुख अशोक तिवारीले भने, ‘सेटिङ हुन केही दिन लाग्छ । त्यसपछि हलुका सवारी दानाको खामभित्तासम्मै चल्न सक्छन् ।’ आयोजनाका अनुसार अन्नपूर्ण–३ दानाको खामभित्ता–बाँदरजुँगभीरसम्म ५ किमि सडक खण्डमा रहेका काप्रेभीर, रुप्से, दाना, द्वारी खोला र खामभित्ताको पहिरो सडक ट्र्याक खोल्न बाँकी छ । सडकको सबैभन्दा जटिल भाग काप्रेभीर/बाँदरजुँगभीरको करिब ४० मिटर सडकको फाउन्डेसन नै नरहेकाले पहाडमा विस्फोटन गराई ट्र्याक खोल्ने योजना छ ।

म्याग्दी र मुस्ताङ सीमावर्ती काप्रेभीर/बाँदरजुँग भीरमा दुई वटा पहिरो खसेको छ । माथिबाट झरेको पहिरोले बेससहित सडक कालीगण्डकीमा खसालेको छ । ‘काप्रेभीरमा हिजो पनि सडक विस्तारमा समस्या थियो । अहिले झन् बेससमेत पूरै सडक खसेकाले ४० मिटरभन्दा बढी नयाँ ट्र्याक खोल्नुपर्ने भएको छ । त्यसका लागि ड्रिल मेसिन आउँदै छ । सम्भवतः मंगलबारदेखि होल खोल्न सुरु हुन्छ’ तिवारीले भने ।

प्रकाशित : श्रावण २६, २०७७ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?