बिरामी बोक्ने पास बनाएर चौबर भाडामा यात्रु ओसारपसार- गण्डकी - कान्तिपुर समाचार

बिरामी बोक्ने पास बनाएर चौबर भाडामा यात्रु ओसारपसार

दीपक परियार

पोखरा — जिपलाई १ हजार रुपैयाँ भाडा तिरेर बागलुङका सज्जनकुमार सिंह बुधबार पोखरा आए । भगवती जिप सञ्चालक कम्पनीले उनीसँग साढे दुई गुना बढी भाडा असुल्यो । यसअघि जिपको भाडा ४ सय रुपैयाँ थियो । सिंहले भाडा बढी भएकाले घटाउन भने । जिप चालकले सवारी पास बनाउन जिल्ला प्रशासनमा पैसा बुझाएकाले भाडा घटाउन नसक्ने जवाफ फर्काए ।

सात सिट क्षमता भएको जिपले सातै जना राखेर पोखरा ल्यायो । ‘बुबा बिरामी भएकाले जसरी पनि पोखरा आउनु थियो,’ सिंहले भने, ‘बढी भाडा तिरेरै भएपनि आएँ ।’ एउटै जिपमा व्यक्तिपिच्छे फरक–फरक भाडा लिइएको उनले सुनाए ।

कोरोना संक्रमणका कारण सरकारले लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छैन । अत्यावश्यकबाहेकका निजी सवारीसाधनलाई समेत एक जिल्लाबाट अर्को जिल्ला जान अनुमति छैन । तर, सार्वजनिक र निजी सवारीले विभिन्न बहानामा जिल्ला प्रशासनबाट पास बनाएर यात्रु ओसार्ने गरेको भेटिएको छ । सुरक्षाका उपाय नपनाएका ती सवारीसाधनले भाडासमेत अस्वाभाविक रूपमा असुलिरहेका छन् ।

बा३ख ४६६७ नम्बरको माइक्रोबस बुधबार यात्रु बोकेर पोखराबाट काठमाडौंका लागि छुट्यो । बसले यात्रुसँग २ हजार रुपैयाँ भाडा लियो । उक्त भाडा नियमितभन्दा ४ गुणा बढी हो । निजी सवारीसाधनले समेत पोखराबाट यात्रु ओसारिरहेका छन् । उनीहरूले लिने भाडा सार्वजनिक सवारीसाधनले लिनेभन्दा चर्को छ ।

जापान फर्किने तयारीमा रहेका पोखरा, मालेपाटनका राजन तिमिल्सिना बिहीबार ३ हजार रुपैयाँ तिरेर स्कर्पियोमा काठमाडौं गए । छिमेकीको स्वास्थ्य जाँच गर्न काठमाडौं लैजान पास बनाएको जिपमा उनी पनि गएका हुन् । जापानी दूतावासले ‘नो अब्जेक्सन लेटर’ लिन बोलाएकोले बढी भाडा तिरेरै भएपनि काठमाडौं जान लागेको उनले सुनाए । ‘आफ्नो काम परेपछि तिर्नुपर्‍यो,’ उनले भने, ‘यस्तो बेला धन्न गाडी पाइयो भन्नुपर्‍यो ।’

बागलुङ–पोखरा चल्ने जिपका चालक रामबहादुर गुरुङ जोखिम मोलेर गाडी चलाएको बताउँछन् । कोरोनासँगै बाढीपहिरोको डर हुँदाहुँदै यात्रुकै आग्रहमा सुविधा दिएको उनको भनाइ छ । ‘कोही बिरामी हुन्छन्, कोही जागिरमा फर्कने हुन्छन्,’ उनले भने, ‘सुविधा दिऊँ भनेर चलाएको हो । गाडी थन्क्याएर मात्रै पनि भएन ।’ बिरामी बोक्ने भनेर एकपल्टमा तीन दिनको पास बनाउने गरेको उनले सुनाए । पास बनाउन कुनै रकम नबुझाएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कास्कीबाट काठमाडौं जान दैनिक ६० सवारीसाधनले पास लिने गरेका छन् । अन्य जिल्ला जान पास लिने पनि त्यति नै संख्यामा छन् । सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार उपचारका लागि सवारी पास लिएर जाने झन्डै ६० प्रतिशत छन् । जागिरमा फर्किने २० प्रतिशत छन् । बाँकीले वैदेशिक रोजगार, विवाह, मृत्यु, श्राद्धजस्ता कार्य, सर्वोच्चमा तारेख धाउने, व्यवसायमा फर्किनेलगायत प्रयोजनमा पास लिन्छन् । ठूला सवारीसाधनलाई जिल्लाबाहिर यात्रु बोक्ने गरी पास नदिएको उनको दाबी छ । ‘बसलाई पास दिने नीति नै छैन,’ उनले भने, ‘अन्य जिल्लाले पनि यहाँ भित्रिन सोधेका छैनन् ।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी भने हाल दिनमा १–२ वटा लामो दूरीका यात्रुवाहक बस छुटिरहेको बताउँछन् । ‘गाडीधनीले आफ्नै ढंगले पास बनाएर यात्रु ओसारेका छन्,’ उनले भने, ‘डबल भाडा लिएको सत्य हो ।’

पूर्वमा काँकडभिट्टा र पश्चिममा धनगढीसम्म बस छुट्छन् । त्यताबाट यात्रु लिएर आउँदा सामाजिक दूरी कायम हुँदैन । न त जिल्ला भित्रिनेको कुनै स्वास्थ्य जाँच हुन्छ । प्रशासनले सामान्यतया एक साताको सवारी पास उपलब्ध गराउँछ । निजी र भाडाका सवारीसाधनले १–२ दिनमै काम सकेर बाँकी समय यात्रु ओसार्ने गरेको पाइएको छ ।

पास दुरुपयोग गर्दै निजी गाडीले यात्रु बोकेको अध्यक्ष केसीले बताए । ‘एक जना बिरामीको पास बनाएर यात्रु ओसार्ने निजी गाडी धेरै छन्,’ उनले भने, ‘मेरै आफन्तले काठमाडौं जान ३ हजार ५ सय रुपैयाँ भाडा बुझाएका छन् ।’

सरकारकै अकर्मण्यताले गर्दा भदौ १ पछि समेत लामो दूरीका बस सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । २ सिटमा एक जना मात्रै राखेर, सुरक्षाका उपाय अपनाई डेढ गुना बढी भाडा लिएर सञ्चालन गर्ने यातायात व्यवसायीको प्रस्तावप्रति सरकार सकारात्मक नरहेको उनले थपे । ‘पोखराबाट चितवन जान ३ ठाउँ गाडी फेर्नुपर्छ,’ उनले भने, ‘यसले असुरक्षा बढ्ने नै भयो, भाडा पनि महँगो पर्ने भयो । कम्तीमा प्रदेशभित्र भए पनि व्यवसायीको प्रस्तावअनुसार यातायात चलाउनुपर्छ ।’ यात्रु बोकेर छुट्ने बसको ट्रिप शुल्क काट्न प्रालिले पृथ्वीचोक काउन्टरमा दुई कर्मचारी खटाएको छ ।

जिल्ला ट्राफिक कार्यालय प्रमुख सन्तोष रोका भने यात्रु बोकेर लामो दूरीका बस छुटेको स्विकार्दैनन् । ‘विदेशबाट आएर काठमाडौं होल्डिङ सेन्टरमा बसेकालाई लिन केही बस रित्तै जान्छन्,’ उनले भने, ‘उताबाट फर्किंदा पनि प्रोटोकलअनुसार नै मान्छे राखेर ल्याउँछन् ।’ जिल्लाभित्र भने दुई सिट बराबर एक जना मात्रै राखेर सार्वजनिक सवारी चलाउन दिएको उनको दाबी छ । ‘धेरै यात्रु राखेको भेटिए उनीहरूलाई ओराल्ने र गाडी नियन्त्रणमा लिएर कारबाही गर्ने गरेका छौं,’ उनले भने ।

लकडाउन खुलेपछि भने जिल्लाका नाकाहरूमा राखिएका हेल्थ डेस्क हटाइएका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्य बसमा भीडभाड गरेर यात्रा गर्दा कोरोना फैलने जोखिम बढ्ने बताउँछन् । त्यसरी आउने यात्रु क्वारेन्टाइनमा पनि नबस्ने भएकोले जोखिमपूर्ण हुने उनको भनाइ छ । कास्कीमा भित्रिने यात्रुको स्वास्थ्य जाँच गर्न स्पष्ट निर्देशन कतैबाट नआएको उनले बताए । ‘अहिले बढी कन्ट्याक्ट ट्रेसिङमा लाग्नुपरेको छ,’ उनले भने, ‘सवारीसाधनको चाप बढेकोले स्वास्थ्य जाँच गर्न जनशक्तिले धान्ने अवस्था छैन ।’

प्रकाशित : श्रावण २३, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्

घरकै आइसोलेसनले मनोबल उच्च

म एक्लै छुट्टै कोठामा भएका कारण दिनरात परिवारजनले के–कस्तो छ भनेर चासो राखिरहे । यस्तो सोधीखोजी अस्पतालको आइसोलेसनमा कहाँ हुन्छ र ?
कमल पन्थी

पीसीआर परीक्षणका लागि स्वाब दिएको थिएँ । रिपोर्ट नआएसम्म बाहिर निस्कने कुरै थिएन । दुई दिनपछि साउन ९ गते दिउँसो जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीको फोन आयो, ‘तपाईं अब आइसोलेसनमा बस्नुपर्छ । बर्दियामा आइसोलेसन राम्रो छैन । खजुरा जाने हो कि !’

घरसल्लाह गरेर एकछिनमा भनुँला भनेर मैले फोन राखेँ । त्यतिन्जेलमा म कोरोना संक्रमित भएको सूचना धेरैतिर फैलिसकेछ । फोन आएको आयै भयो । ‘नआत्तिनुस् ठीक हुन्छ’ भन्ने साथीभाइ, आफन्तका फोनका कारण कहाँ बस्ने निर्णय गर्न सकिनँ । श्रीमतीलाई चाहिँ भनेँ, ‘मेरो कपडा झोलामा राखिदेऊ, म खजुराको आइसोलेसनमा जान्छु ।’ तर श्रीमती, छोरा–छोरी र केही इस्टमित्रले घरमै आइसोलेसनमा बस्न जोड गरे ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले घरमा सबै सुविधा र सुरक्षा भए उत्तम आइसोलेसन हुने बताउनुभयो । मलाई भने घरमा बस्दा परिवारका अरूलाई पनि संक्रमण फैलिने हो कि भन्ने त्रास थियो । त्यही भएर म खजुरा जाने भनेर हिँडेँ । बाबु–छोरा एउटै जिप चढेर खजुरा जान लाग्दा दर्जनौं फोन आयो, सबैले घरमै बस्नु उपयुक्त हुने सुझाव दिए ।

बढैयाताल गाउँपालिका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले फोन गरेर घर फर्कन आग्रह गर्नुभयो । खजुरा पुग्दा मलाई आइसोलेसनमा राख्न बाँके पत्रकार महासंघका अध्यक्ष एवं कान्तिपुरकर्मी ठाकुरसिंह थारू र प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ आइसक्नुभएको थियो । उपचारका सम्बन्धमा मैले डाक्टरसँग सोधपुछ गरे । औषधि भने पनि उपचार भने पनि दुई छाक खाना र नास्ता लिएर र १४ दिन त्यही बस्नुपर्ने हुँदो रहेछ । अरू उपचार नहुने रहेछ । पुरानो र नयॉ संक्रमितसँगै बस्नुपर्ने बाध्यता रहेको अरू संक्रमितले बताए । त्यसपछि घरमै आइसोलेसन बस्ने भनेर फर्कने निर्णय गरेँ । आइसोलेसनमा बसेपछि बाहिर आउन प्रहरीले दिँदो रहेनछ । प्रजिअ कुरुम्बाङले आदेश दिएपछि मात्र म घर फर्कन पाएँ ।

राति करिब ९ बजे घर फर्केको जानकारी पाएपछि पत्रकार निर्मल घिमिरे, भीम उचै ठकुरी, यमनाथ घिमिरे, शुभचिन्तक मंगल पाण्डेलगायत मेरो घर आइपुगे । सामाजिक दूरी कायम गरेर उनीहरूसँग कुरा गरेँ । घरमा छुट्टै कोठा र बाथरुम भएकाले मलाई समस्या थिएन । विशेष गरी मेरा श्रीमती र छोराले मलाई कोरोनालाई जित्न दिनहुँ हौसला दिइरहे । शुभचिन्तक आइरहे । कतिपयले घृणाको शब्द प्रयोग गरेको पनि सुनियो । मेरो घरको बाटो हिँड्न छाडेको पनि देखियो । परिवारलगायत भावनात्मक सम्बन्ध भएकाबाट पाएको सद्भावले मेरो मनोबल उच्च बनायो । कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले पटक–पटक फोन गरेर थप ऊर्जा दिनुभयो । उहाँ ‘नआत्तिनुहोला, केही अप्ठ्यारो छ भने भन्नुहोला’ भन्नुहुन्थ्यो । कान्तिपुरका सहकर्मीले पनि फोनबाट हौसला दिनुभयो ।

घरेलु औषधिको प्रयोग

म संक्रमित भएर घरमै आइसोलेसनमा बसेको दुई सातामा स्वास्थ्यकर्मी न भेट्न आए न फोन गरेर अवस्था बुझे । मैले दिनहुँजसो गुर्जो पानी, तातो पानी, बेसार हालेर दूध, तुलसी र निमपानी पिएँ । हरेक साँझ, बिहान करिब तीन घण्टा व्यायाम र योग गरेँ । मलाई यस अवधिमा ज्वरो, खोकीलगायत कुनै प्रकारको स्वास्थ्य समस्या भएन ।

म एक्लै छुट्टै कोठामा भएका कारण दिनरात परिवारजनले के–कस्तो छ भनेर चासो राखिरहेका हुन्छन् । यस्तो सोधीखोजी अस्पतालको आइसोलेसनमा कहाँ हुन्छ र ? स्वास्थ्य नीतिअनुसार १४ दिन कठोर नियम मानेर होम आइसोलेसनमा बसेँ । अझ एक साता आइसोलेसनमा बस्छु ।

संक्रमणको अनुमान

कोरोना संक्रमण बढ्दै गएपछि मैले सतर्कता अपनाएको थिएँ । मास्क र सेनिटाइजर नियमित प्रयोग गर्थें, सामाजिक दूरी राखेर रिपोर्टिङमा हिँड्थेँ । मलाई साउन ३ मा संक्रमण सर्‍यो कि भन्ने लागेको छ तर सुनिश्चित छैन । त्यस दिन ठाकुरबाबा नगरपालिकाले बर्दियाका सञ्चारकर्मीलाई विकास निर्माणको अनुगमन गराएर पत्रकार सम्मेलन गर्‍यो । हामी करिब एक दर्जन सञ्चारकर्मी दुइटा जिप चढेर गुलरियाबाट गएका थियौं ।

ठाकुरबाबा नगर प्रमुख घननारायण श्रेष्ठलगायत जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीसमेतको टोली बिहान ९ बजे शाहीपुरमा भेला भए । त्यहाँस्थित चियापसलमा सबैले नास्ता खाएर अनुगमनमा लाग्यौं । अनुगमन गर्ने क्रममा मुसलधारे वर्षाका कारण ग्रामीण क्षेत्रका सडकबाट गुड्ने अवस्था थिएन । अनुगमन छोट्याएर हामी भुरीगाउँस्थित एक होटलमा खाना खान पुग्यौं । त्यही होटलमा पत्रकार सम्मेलन गर्न हलमा तामझामका साथ ठूलै संख्यामा दल, संघसंस्थाका प्रतिनिधि बोलाइएको रहेछ । सामाजिक दूरी पालना गरिएको थिएन । अधिकांशले मास्क प्रयोग गरेका थिएनन् ।

झन्डै दुई घण्टाको पत्रकार सम्मेलनमा माइक समात्ने धेरै थिए । सेनिटाइजर प्रयोग नगरी माइक समात्थे । पत्रकार सम्मेलन सकिएपछि हामी आ–आफ्नो गन्तव्यतर्फ लाग्यांै । भुरीगाउँबाट गुलरिया ३३ किमि दक्षिणपूर्व पर्छ । घर पुगेको करिब दुई घण्टामै अन्नपूर्ण दैनिकका संवाददाता यादव आचार्यले फोन गरेर भने, ‘दाइ हामी कन्ट्याक्ट ट्रेसिङमा परियो ।’ त्यसको तीन दिनपछि पीसीआर परीक्षण गराउँदा म भएँ पोजिटिभ ।

प्रकाशित : श्रावण २३, २०७७ ११:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×