दरौदी नदी तर्ने क्रममा दुई बालक बेपत्ता- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दरौदी नदी तर्ने क्रममा दुई बालक बेपत्ता

हरिराम उप्रेती

गोरखा — दरौदी नदी तर्ने क्रममा बिहीबार दुई बालक बेपत्ता भएका छन् । पालुङटार नगरपालिका–१ खुर्पाजुङका १५ वर्षीय प्रज्वल श्रेष्ठ र १६ वर्षीय सविन श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी वासुदेव खतिवडाले बताएका छन् ।

गोरखा नगरपालिका–३ बेनी खोलामा फुटबल खेल हेर्न जाने क्रममा सिरानचोक गाउँपालिका–४ चिसापानी धारा नजिकैको दरौदी नदी पार गर्ने क्रममा उनीहरुलाई बगाएको प्रहरीले बताएको छ ।

मझुवा, बाह्र किलो र चोरकाटे प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरेर उनीहरुको खोजी भइरहेको डीएसपी खतिवडाले बताए ।

प्रकाशित : श्रावण २२, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्

गजुरेल गाथा : ट्रम्पदेखि टेड्रोससम्म 

डिजिटल गाईजात्रामा हाँस्यकलाकार मनोज गजुरेलको बहुरुप, हाँसो र सन्देश सँगसँगै
गोकर्ण गौतम

काठमाडौँ — गत साल मनोज गजुरेल र उनको टिमले देशका सातै प्रदेशमा गाईजात्रा गर्‍यो । यसपालि कम्तिमा दोब्बर सहरमा प्रहसन पस्किने योजना थियो । फ्याट्ट आइदियो कोरोना, भइदियो लकडाउन । घरबाटै निस्कन नमिल्ने भएपछि दर्शक जम्मा पारेर गाईजात्रा देखाउनु असम्भव भइहाल्यो । त्यसो भए गाईजात्रा नगर्ने त ?

लकडाउनको पहिलो साता मनोजले यतातिर ध्यानै दिएनन्, घरमै मज्जाले समय बिताए । दोस्रो साताबाट हल्काफुल्का बेचैनी सुरु भयो । तेस्रो सातामा त निष्कर्षमा पुगिहाले, परम्परा धान्नकै लागि सही, गाईजात्रा गर्नैपर्छ । तर, कसरी ?

दिमागमा झ्वाट्ट जवाफ आइहाल्यो, डिजिटल माध्यममा । अर्थात, पहिले जसरी स्टेजमा नजाने, स्टुडियोमा खिचेर दर्शकसम्म पुर्‍याउने । लकडाउनपछि घरमै बनाएका छोटा कमेडी र प्रेरणादायी भिडियोमा प्राप्त प्रतिक्रियाले उत्साह थपेको थियो । ‘मान्छेहरुमा चिन्ता छ, आर्थिक समस्या छ तर हामी दाम सहयोग गर्ने सामर्थ्य राख्दैनौं,’ यसपटकको गाईजात्राको औचित्य पुष्टि गर्दै मनोज भन्छन्, ‘त्यसैले हाँस्यमार्फत् यो अन्यौल चिर्ने अनि हौसला र आशा सिर्जना गर्ने प्रयत्न गर्‍यौं ।’

मनोजको समूहमा शैलेन्द्र सिम्खडा, चट्याङमास्टर, सुबोध गौतम, सुमन कार्की, राजा राजेन्द्र, यमन श्रेष्ठलगायत छन् । गत वर्ष उनी ‘कमेडी च्याम्पियन’को निर्णायक बने, उक्त शोका प्रतियोगीलाई पनि समेटे । जब फरक–फरक विचारका कलाकारबीच महामारी दौरानै उर्जा साटासाट भयो, हाँस्यप्रस्तुति बनाउन तम्तयार भइहाले । यो थियो, वैशाख तेस्रो साताको कुरा । अहिले उनको युट्युब च्यानलमा मनोजसहित अन्य कलाकारले त्यतिबेलैबाट बनाएका कमेडी भिडियोहरुले लाखौं भ्युज बटुलिरहेका छन्, फेसबुकतिर छ्याप्छ्याप्ती छन् । देशविदेशका अनेक घटना, प्रवृत्ति र पात्रमाथि ब्यंग्य कसेका छन् । र, भनिरहनु पर्दैन– यसको केन्द्रमा उनै मनोज छन् । ‘क्यारिकेचर’मा ब्रान्ड बनिसकेका मनोजले यसपटक पनि ‘सप्राइज’ दिएका छन् । जस्तो ः विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम र भारतका विवादस्पद टेलिभिजन पत्रकार अर्नब गोस्वामीको अवतारमा देखिएका छन् । आदिकवि भानुभक्त अनि चालीस वर्षपछिको स्वयः मनोज गजुरेल बनेका छन् । को–पाइलट प्रचण्ड बनेर विमान उडाएका छन् ।

मनोज चाहन्थे, समय खराब छ, मनमा तनावमा छ, त्यसैले यसपाली कोरा कमेडीमात्र नहोस्, जिम्मेवारीबोधसहितको सन्देश पनि होस् । भन्छन्, ‘जति क्यारिकेचर गरेको छु, त्यसमार्फत व्यंग्य त छदैछ, सद्भाव र भाइचारा पनि अभिव्यक्त गर्न खोजेको छ । अहिलेको वास्तविकता र मनोविज्ञान पहिल्याउने प्रयास छ मेरो ।’ आज बाँचिरहेको समयको प्रतिबिम्ब भएर हुनुपर्छ, उनका हरेक हास्य कन्टेन्ट खुब रुचाइँदै छ ।

टेड्रोस रोज्नुको आफ्नै कारण छ, मनोजसँग । कोरोनासम्बन्धी समाज, सामाजिक सञ्जाल र मूलधारकै मिडियामा पनि अनेक अफवाह फैलिएका छन्, त्यसलाई गलत सावित गर्दै आधिकारिक सूचना दिने डब्लुएचओ र उनै टेड्रोस हुन् । जब कोभिड–१९ को महाव्याधीले देशहरुको सीमा पार गर्दै थियो, संसारले सबैभन्दा धेरै देखेको अनुहार सम्भवतः टेड्रोसकै हो । ‘क्यारिकेचर चिनेकै अनुहारको गरिन्छ । अहिलेका लागि टेड्रोसजस्तो उपयुक्तपात्र अर्को देखिनँ,’ बिहीबार कान्तिपुरसँग मनोजले भने, ‘तर, टेड्रोसलाई व्यंग्य गरिएको छैन । बरु यो पात्रमार्फत् महामारीमा पनि स्वार्थप्रेरित राजनीति गरिरहेका संसारका शक्ति राष्ट्रका प्रमुखलाई व्यंग्य गरेको छु । स्वास्थ्यसम्बन्धी सचेतना पनि छ ।’ उनका अनुसार टेड्रोसका माध्यमबाट पूर्वीय वैदिक सनातन, संस्कृति र सभ्यतामा रहेका ध्यान, योग, अध्यात्म र प्रकृतिप्रेमको सन्देश पनि प्रवाह गरिएको छ । प्रेसमिटको सन्दर्भमा तयार पारिएको भिडियोमा टेड्रोस बनेका मनोजले ‘नमस्कार’ र भातृत्वलाई विशेष महत्व दिएका छन् ।

टेड्रोस बन्ने निधो भएपछि मनोजले धेरैभन्दा धेरै उनका भिडियोहरु हेरे । हुलिया, हाउभाउ, बोल्ने शैली र अन्य शारीरिक भावभंगिमा नियाले । अनि केही दिन अफ्रिकी टोनमा अंग्रेजी बोल्ने अभ्यास गरे । भन्छन्, ‘टेड्रोस बन्ने तयारी र अभिनय प्रस्तुति मेरो लागि पनि नवीन अनुभव रह्यो ।’

मनोजको चर्चित भइरहेको अर्को क्यारिकेचर हो– हरेक घटनालाई अतिरञ्जित बनाउने भारतीय टिभी पत्रकार अर्नब गोस्वामी । अर्नब नेपालमा पहिले पनि चिनिएकै पत्रकार हुन्, नेपालले नयाँ नक्सा जारी गरेपछि उनले चलाएका विभिन्न टक शोपछि झन् धेरैको ध्यान तानियो । मनोजका अनुसार, नेपाल र भारतबीच विवाद हुँदा भारतीय मिडियाले अस्वभाविक गतिविधि देखाउँछन्, हाम्रो सार्वभौमिकतामाथि प्रहार गर्छन् र उनीहरुलाई भ्रम हुन्छ कि उनीहरुले जे देखायो, त्यो नेपालमा पत्याउँछन्, त्यसको प्रभाव पर्छ । ‘भारतीय मिडियाको नेपालीमाझ रहेको असली छवि देखाउन पनि अर्नब बनेको हुँ,’ मनोज भन्छन्, ‘चर्को स्वरमा बोल्ने, प्रश्न नसोधी उत्तर खोज्ने, आफ्नै कुरा एकोहोरो लाद्ने र अरुलाई बोल्न नदिई निर्णय सुनाउने अर्नब प्रवृत्तिलाई समात्ने प्रयास गरेको छु ।’

अर्नबको पत्रकारितालाई मनोजले ‘तर्साकारिता’ नाम दिएका छन् । अनर्ब र नेपाली पत्रकार ऋषि धमलाबीचको काल्पनिक वार्ता उतारिएको छ । ऋषिको क्यारिकेचर सुमन कार्कीले गरेका छन् । मनोज हाँस्दै भन्छन्, ‘ऋषि पनि सानातिना अनर्ब नै हुन् । दुवैलाई एकसाथ भिडाउँदा रोचक हुन्छ भन्ने लाग्यो । अर्नबको प्रस्तुति जोकझैं लाग्छ, जोकमाथि हामीले जोक गर्दा महाजोक भएको छ ।’ हावादारी गाली र मजाक होइन, तर्कपूर्ण र सालीन व्यंग्य कसेको उनको दाबी छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको क्यारिकेचर मनोजले पहिल्यै गरिसकेका छन् तर यसपटक अलि भिन्न छ । कोरोनाले च्याँप्दै गएपछि ट्रम्पले हृवाइट हाउसमा हिन्दु पुजारी बोलाएर स्वस्ति शान्ति गरेका थिए, अन्तर्राष्ट्रिय मिडियामा खुब चर्चा भएको थियो । मनोजले त्यही स्वस्ति शान्तिलाई क्षमा पूजाको रुपमा नक्कल गरेका छन् । यो भिडियोमा उनको डबल रोल छ, पुजारी बन्ने ‘स्वामी मनोजानन्द’ पनि मनोज नै हुन् । उनले ट्रम्पलाई प्रतीक बनाएर रुस, चीनजस्ता संसारका सुपरपावरलाई व्यंग्य अनि साना र पिछडिएका राष्ट्रको आवाज समेटेको बताए । भन्छन्, ‘संसारको राजनीतिको केन्द्रमा ट्रम्प छन् तर महामारीमा पनि अन्य देशसँग शीतयुद्ध गरे, गलत तथ्यहरु प्रचार गरे, त्यसैले उनको प्रवृत्तिमाथि व्यंग्य गर्नु आवश्यक थियो ।’ कुटनीतिक मर्यादाभित्र रहेरै कमेडी गरेको उनको भनाई छ ।

तीन वर्षअघि मनोज पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनि सिताराम कट्टेल केपी ओली बनेर हास्यप्रस्तुति दिएका थिए, दर्शकदीर्घामा असली दाहाल र ओली पनि थिए । स्थायी सरकार चाहिएको र उनीहरु मिल्दा दुई तिहाई आउने सम्भावना हुने भाव थियो, उक्त प्रस्तुतिमा । नभन्दै त्यसको केही समयपछि एमाले र माओवादीको एकीकरण भयो, ओलीको नेतृत्वमा दुई तिहाईको सरकार पनि बन्यो । दाहाल लर ओली दुवै नेकपाको अध्यक्ष भए । ओलीले ‘जेट प्लेनमा दुइटा पाइलट हुने’ अभिव्यक्ति दिए । यही कारण यसपटक मनोज र सितारामले विमानको ककपिटमै बसेर एकआपसमा दोषारोपण गरेका छन्, दाहाल र ओलीको हुलियामा । कुनै समय एमालेबाट विद्यार्थी राजनीति गरेका मनोज भन्छन्, ‘पार्टी मिल्यो, मन मिलेन, कार्यकर्ता मिलेनन्, नागरिकको सपना मिलेन, त्यसैले हामीले अनर्थ हुनु अगावै उहाँहरु दुवैले अनिवार्य अवकाश लिनुपर्ने सन्देश दिएका छौं ।’

विमानभित्रको सुटिङ सिनामंगलस्थित ‘एभियसन म्युजियम’मा गरिएको हो, यसका लागि उनीहरुले क्याप्टेन वेद उप्रेतीसँग उडानसम्बन्धी प्रशिक्षण पनि लिएका थिए । उड्यनसम्बन्धी शब्दावली र सन्दर्भमा नेकपाभित्रको खिचातानीमाथि सिताराम र उनको रोचक रस्साकस्सी देख्न पाइन्छ । सितारामसँगको सहकार्यबारे मनोज भन्छन्, ‘कन्टेन्टमा म उसको दाई हो । प्रविधिमा ऊ मेरो दाई । त्यसैले सँगै काम गर्दा एकअर्कासँग सिक्न पाइन्छ ।’

क्यारिकेचरमा विविधता पस्कनेक्रममा मनोज आदिकवि भानुभक्त पनि बनेका छन् । भानुभक्तले हाँस्यकविता पनि रचेका छन् । भानुको क्यारिकेचरमार्फत् त्यो युग र यो युग जोड्ने प्रयास गरेको उनको भनाई छ । त्यस्तै, चालीस वर्षपछिको विश्वको प्रविधि, नेपालको कमेडी र नेपाली कलाकारको अवस्था कल्पना गर्दै कमेडी तयार पारेका छन्, जसको पात्र उनी आफैं हुन् । ‘त्यतिबेला तनाव चुलिएको हुन्छ, हाँसो बिक्री हुन्छ । त्यसैले विभिन्न देशले मलाई हाँस्य–विज्ञका रुपमा नियुक्त गरेका हुन्छन्,’ मनोज मुस्कुराउँदै सुनाउँछन्, ‘कोरोनापछि विश्वले एकजुट भएर आर्थिक विकास गरेको सुखद कल्पना पनि गरेको छु ।’

मनोज कमेडीमा कहिले तीखो हुन्छन्, कहिले समाजका नकारात्मक प्रवृत्तिहरु उदांगो पार्छन्, कहिले सकारात्मक भाव प्रवाह गर्छन् । जे गरे पनि, समाजप्रतिको दायित्व भुल्दैनन् । सचेत र सिर्जनशील हाँस्यकलाकारको छवि निर्माण हुनुको रहस्य पनि यही हो । वयंग्य गरेरै उनको रोजीरोटी चलेको छ, ख्याति कमाएका छन् । समयसँगै उनको व्यंग्यको शैली बदलिएको छ । तर, समाजको मनोवृत्ति र पात्रहरु पनि उसैगरी बदलिए त ? यो प्रश्नले सुरुमा मनोज केही गम्भीर बनायो र जवाफका लागि उनले २३ वर्षअघि चट्याङ मास्टरले लेखेको गीत सापटी लिए :

संसद् बोलाए नि आउने यिनै हुन्

भोटै खसाले नि पाउने यिनै हुन्

यिनै थिए, यिनै छन्, रहने यिनै हुन्

तपाईंको यो हालत बनाउने यिनै हुन् ।

प्रकाशित : श्रावण २२, २०७७ २०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×