गोरखाको लक्ष्मी बजार सिल- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखाको लक्ष्मी बजार सिल

हरिराम उप्रेती

गोरखा — एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा थप तीन जनामा संक्रमण देखिएपछि गोरखा नगरपालिका–९ को लक्ष्मी बजार क्षेत्र सिल गरिएको छ । बिहीबार बसेको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि गठित कमान्ड पोष्टको बैठकले चार किल्ला तोकेर लक्ष्मी बजार क्षेत्र सिल गर्ने निर्णय गरेको हो । 


पूर्वतर्फ खोलखोले चोक, पश्चिम टक्सार सातदोबाटो, उत्तरको सिर्दी खोला र दक्षिणको लुदि खोलाको सिमा क्षेत्र भित्रको क्षेत्र सिल गरिएको हो । कोरोना भाइरस संक्रमण थप फैलन सक्ने जोखिम न्यूनिकरण तथा संक्रमण देखिएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ बढाउन वडाको सिफारिसको आधारमा उक्त क्षेत्र सिल गरिएको जिल्ला प्रशासनका अधिकृत हर्क रोकाले बताए । उक्त क्षेत्रलाई थप प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । ‘अत्यावश्यक बाहेकको काममा हिँडडुल गर्न पाइँदैन, सार्वजनिक सेवा प्रवाह पनि तत्कालका लागि बन्द हुन्छ’, उनले भने ।

गोरखा नगरपालिकाका तीन जनासहित बिहीबार सात जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

प्रकाशित : श्रावण २२, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्

गर्भपतन गराउँदा आमा र शिशुको मृत्यु, डाक्टर र ‘प्रेमी’ पक्राउ 

हरि गौतम

रुकुम पूर्व — गर्भपतन गराउँदा आमा र शिशुको मृत्यु भएपछि गर्भपतनमा संलग्न डाक्टरसहित अर्का एकजना पक्राउ परेका छन् । सिस्ने गाउँपालिका–६ को रुक्मिणी अस्पतालमा कार्यरत झापा भद्रपुर नगरपालिका घर भएका डक्टर रुपेशकुमार सिंह र ती महिलाका प्रेमी भनिएका सिस्ने गाउँपालिका–४ दादिङका गणेश घर्ती पक्राउ परेका छन् । 

साउन २० गते राति सवा ८ बजे २६ वर्षीया पुष्पा घर्तीको गर्भपतन गराउँदा उनको र पेटमा रहेको २२ हप्ताको बच्चाको मृत्यु भएको थियो । डाक्टरले गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । पुष्पासँगै उनको पेटमा रहेको बच्चासमेतको मृत्यु भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

गर्भपतन गराउने डाक्टरसहित पुष्पाका प्रेमी भनेर गर्भपतन गराउन लिएर गएका गणेशसमेत पक्राउ परेको डिएसपी बज्राचार्यले बताए । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ । रुकुमकोट जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ माइती भएकी पुष्पाको बिहे भने रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकामा भएको बताइएको छ । उनी दुई छोरीका साथ रुकुमकोटमा बस्दै आएकी थिइन् । यसअघि पनि उक्त अस्पतालले लापरबाही गरेको खबर सार्वजनिक भएको थियो । उक्त अस्पतालले बिना जाँच र हाइ डोजको औषधि दिने गरेको गुनासो जिल्लाभर छ ।

प्रकाशित : श्रावण २२, २०७७ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×