१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तुइन चुडिएर खस्दा लमजुङमा एक युवती बेपत्ता

आश गुरुङ

लमजुङ — लमजुङको दोर्दीखोलामा तुइनबाट तर्ने क्रममा डोरी चुँडिदा एक युवती बेपत्ता भएकी छन् ।

दोर्दी गाउँपालिका–६ सिमी घर भइ हाल कीर्तिपुरबेंसी बस्दै आएकी २५ वर्षीया फूलमाया गुरुङलाई दोर्दीखोलाले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दोर्दी गाउँपालिका–६ कर्तीबेंसी र वडा नम्बर ७ को फलेनी अमितफाँट जोड्ने गरी सामान ओसारपोसार गर्न राखिएको तुइनबाट वडा नम्बर ७ अमितफाँटस्थित जलकन्यादेवी मन्दिरमा परेवा छोड्न जाने क्रममा गुरुङ खोलामा खसेकी थिइन् । उनीसँगै तुइन चढेका कीर्तिपुरकै १७ वर्षीय विकास घलेले भने तुइनको डोरी समातेर ज्यान जोगाएका छन् । गुरुङले भने तुइन समात्न नसक्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

जनैपूर्णिमाको दिन उक्त मन्दिरमा पूजा गर्न जाने क्रममा सोमबार बिहान १० बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । दोर्दी गाउँपालिका कार्यपालिका सदस्य उषा गुरुङका अनुसार उक्त तुइनबाट सामान तार्ने गरिएको थियो । मानिस हिँड्नको लागि करिब आधा घण्टामाथि छोटेखोलामा झोलुंगे पुल रहेको छ । पहिले मन्दिर निर्माणका लागि सामान तार्न राखिएको तुइनमा जोखिम मोलेर चढ्दा मानिस नै हराएको उनले बताइन् । फलामको डोरी राखेर बनाइएको तुइनमा मानिसलाई आवतजावत गर्न बन्देज लगाइए पनि लुकिछिपी चढेकाले दुर्घटना भएको दोर्दीगाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताए । प्रहरीका अनुसार डोरीले मानिसको तौल धान्न नसक्दा दुर्घटना भएको हो ।

बेपत्ता गुरुङको श्रीमाञ्ज्याङ प्रहरी चौकी नौथर र अस्थायी प्रहरी पोष्ट कीतिपुरबेंसीका प्रहरी टोलीले खोजी गरिरहेको प्रहरी निरीक्षक पुनले बताए ।

प्रकाशित : श्रावण १९, २०७७ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?