फेवातालको सिल्ट्रेसन ड्याम भत्कियो 

लालप्रसाद शर्मा

पोखरा — फेवाताल संरक्षण अभियान अन्तर्गत पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा पोखरा–२३ खहरे खोलामा निर्माण गरेको सिल्ट्रेसन ड्याम २ महिना नपुग्दै भत्किन सुरु गरेको छ । यसले ड्यामको गुणस्तरमा प्रश्नचिन्ह उठेको छ ।  

फेवातालको सिल्ट्रेसन ड्याम भत्कियो 

जलाधार क्षेत्रबाट बर्सेनि बगेर आउने गेग्रान (सिल्ट) काकारण फेवाताल पुरिँदै गएको भन्दै त्यसलाई रोक्न ड्याम बनाइएको थियो । तर केही दिनयता खहरे खोलाको मुख्य सिल्ट्रेसन ड्याम भत्किँदै गएको पोखरा–२३ का वडासदस्य भरत भण्डारीले बताए । ‘हामीले ड्याम गुणस्तर भएन भन्दै यसअघि नै वडा, महानगर र ठेकेदार समक्ष पनि डेलीगेसन लिएर गएका थियाै‌ं,’ भण्डारीले भने, ‘सुनुवाई भएन अहिले परिणाम देखिइसक्यो ।’ उनका अनुसार पानी निकास हुने ड्यामको २० मिटर जति वालको अगाडिको ढुंगाको लाइन र भित्र बिछ्याइएको ढुंगा बगिसकेको छ । सिमेन्ट कम र बालुवा भनेर पाँगो माटो राखेकाले यस्तो भएको उनको भनाइ छ ।

उक्त क्षेत्रमा महानगरबाट खटाइएका सुपरभाइजर श्रीराम भण्डारीका अनुसार पानी खस्ने बाँधको एक मिटरसम्म हवाङ्ग भएकाले कुनैपनि बेला सबै बग्ने अवस्था छ । ‘बाँध फुटेको भन्न सकिन्छ,’ उनले भने । महानगरका इन्जिनियर विमल आचार्यले सिल्ट्रेसन ड्याममा केही भाग प्वाल परेको खबर आएको तर नहेरेसम्म भन्न नसकिने अवस्था रहेको बताए । ‘आयोजना बन्ने समय आगामी जनवरी १ सम्म हो । निर्माण सम्पन्न भए पनि ठेकेदारबाट हस्तान्तरण भइसकेको छैन,’ उनले भने, ‘ठेकेदारसँग कुराकानी भइसकेको छ । उसले फेरि बनाएर हस्तान्तरण गर्नेछ ।’ ड्याम खड्का कृष्ण पिके जेभीले बनाएको हो ।

फेवातालको मुख्यस्रोत हर्पन खोलाको घाँटीछिना, बेतयानी खोलामा दुई ठाउँ, लौरुक खोला र अँधेरी खोलामा चेकड्याम र सिल्टपोखरी निर्माण भएको हो । यी खोला र खहरेबाट बर्सेनि लाखाैं घनमिटर ढुंगामाटो, गिट्टी, बालुवालगायत वस्तु फेवातालमा आउने विभिन्न अध्ययनले देखाएपछि ती वस्तु तालमा आउनबाट रोक्ने उद्देश्यसाथ बाँध र पोखरी बनाइएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरको बराबर बजेटमा काम भएको हो । चार खोलाको ५ ठाउँमा बन्ने बाँध र पोखरीका लागि २८ करोड ९६ लाख रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएर काम भएको थियो । एक वर्षको अवधिमा निर्माण सक्नुपर्ने भए पनि ठेकेदारले झन्डै ६ महिनामा काम सकेका थिए । हतारको कामले पनि गुणस्तर हुन नसकेको स्थानीयको भनाइ छ ।

महानगरका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले शुक्रबार अनुगमन गरेरमात्र सबै कुरा भन्न सकिने बताए । ड्याम र पोखरी बनेपछि अब सबै सिल्ट रोकिने र गेग्रानलाई प्रत्येक साता निकालेर निर्माण सामाग्रीको रुपमा महानगरलेनै बेच्ने योजना थियो । केही समय अघिमात्र घाटीछिनास्थित फेवातालको मुख्यस्रोत हर्पन खोलामा निर्मित चेक ड्याम पनि भत्केको थियो ।

प्रकाशित : श्रावण १५, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?