१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

करोडौंको सडकमा सास्ती

प्रकाश बराल

बागलुङ — आर्थिक वर्ष २०७६/०७७ का लागि सालझन्डी ढोरपाटन सडकमा २५ करोड बजेट थियो । त्योमध्ये बागलुङ खण्डमा २ करोड खर्चेको आयोजनाको तथ्यांक छ । 

करोडौंको सडकमा सास्ती

सोही सडकको बागलुङ खण्डमै स्थानीय साझेदार पूर्वाधार विकास कार्यक्रमको पनि थप २ करोड बिनियोजन भयो । तर दुवै रकमले उपलब्धि भने दिन सकेन । उक्त रकम खर्चेर कता काम भयो भन्ने देख्नै नपाएको स्थानीयले गुनासो गरेका छन् । जिल्ला समन्वय समितिले गरेको अनुगमन टोलीले पनि सडक निर्माणको कामै नदेखेको बताए ।

आयोजनाले हरेक वर्ष बागलुङ खण्डमा काम नगरेपछि पूर्वाधार कार्यक्रमको बजेट लगाउनु परेको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले दाबी गरे । दुवैतर्फको दुई–दुई करोड गरी चार करोड रकम कता खर्च भयो भन्ने देख्न नपाएको समन्वय प्रमुख राजेन्द्र ढुंगानाले टिप्पणी गरे ।

ढोरपाटन नगरपालिकाको बुर्तिवाङ देखि सिकार आरक्ष जाने सडकमा अघिल्लो बर्ष गरिएको काम बाहेक प्रगती शुन्य देखिएको हो । सडक छेउमै घर भएका वडा नं. ५ का अध्यक्ष लक्ष्मण पुनले पनि सडकमा काम भएको नदेखेको बताए । ‘डोजर हिडेको बाटो पनि छैन, खाल्डापनि उत्तिकै छन्’ पुनले भने, ‘उक्त रकम कता खर्च भयो पत्तो पाइएन ।’ चैत पहिलो साताबाटै लकडाउन भएकोले काम नभएको उनले बताए । बजेट बिनियोजन भएर उपभोक्ता समिति गठन गर्दा फागुन लागेकोले त्यस अघि काम भएको थाहा नपाएको उनले टिप्पणी गरे । उक्त सडक स्तरउन्नती र फराकिलो बनाउने गरी रकम लगानी भएको थियो ।

दोहोरो बजेट खर्चे पनि सडकको अबस्था सुधार नभएपछि स्थानीयले पनि रकम दुरुपयोगको आरोप लगाएका छन् । ‘बजेट कसरी फरफारक भयो खोजी गर्न आबस्यक छ’ स्थानीय मैतराम घर्तीले भने, ‘हामीलाई सधै पैदल हिडेरै बजार जाने सास्ती छ ।’ ढोरपाटन नगरपालिकाले उक्त सडकको मूल्यांकन गरिदिएपछि भुक्तानी भएको हो । सांसद देबेन्द्र पौडेल संयोजक रहेको समितिले दुइ करोड रुपैयाँबाट ४९ हजार रुपैयाँ मात्रै खर्च नभएर कोरोना कोषमा जम्मा भएको पौडेलका सचिव राजन पौडेलले बताए ।


बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा पैदल यात्री । सवारी नचलेपछि पैदलै बजार झर्ने बाध्यता छ । तस्बिर : प्रकाश बराल

दुई खण्डमध्ये एक खण्डका उपभोक्ता समितिमा जनप्रतिनिधि नै बसेका छन् । वडा अध्यक्षले समितिमा बस्नै नपाउने प्रावधान विपरीत वडा नम्बर १ का अध्यक्ष चित्रबहादुर भण्डारीको अध्यक्षतामा उपभोक्ता समिति बनाइएको थियो । भण्डारी उक्त वडाका अध्यक्ष हुन् । तर उनले वडा नम्बर ६ को सडकको उपभोक्ता समितिको अध्यक्ष भएर काम गरेका थिए । भण्डारीले भने सालझन्डी सडक आयोजनाले काम नगरेपछि सांसद कोष खर्चेर मर्मत गरेको दाबी गरे । ‘झरी नपर्दासम्म दैनिक जीप चलेका थिए, अहिले रोकियो’ भण्डारीले भने, ‘अब आयोजनालाई बनाउन भन्छौं ।’ ढोरपाटन सालझन्डी सडक आयोजनाका प्रमुख जयलाल मरासिनीले रकम अभावमा काम ढिलाइ भएको दाबी गरे । ‘दुई सय किमी सडकमा बर्सेनि १५ देखि २० करोड बजेट आउँछ, कता मात्रै खर्चने ?’ मरासिनीले भने, ‘यो बजेटले भत्केका स्थानमा मर्मत गर्दैमा ठिक्कै छ ।’ बागलुङ खण्डमा पनि असारअघि २ करोड खर्चेको उनले बताए । उक्त बजेटले अप्ठ्यारो स्थानमा पर्खाल बनाएको उनले दाबी गरे ।

आयोजनाले यो सडक पूरै बनाउनका लागि ३ अर्ब ९८ करोड मागेको उनले बताए । ‘मागेजति रकम आयो भने काम सकिइहाल्छ, नआएपछि मर्मत गर्दैमा सकिएको छ,’ उनले भने, ‘बजेट बिनियोजन भएमा एकै वर्षमा सडक ग्राभेल गरिन्छ ।’ हिउँदमा पनि सामान्य मर्मत समेत नगरिदिँदा सडक चिप्लो र ग्रेड नमिलेकोले दुर्घटनाको खतरा बढी छ । बोबाङ, फलेघर र रुद्रताल क्षेत्रमा अत्याधिक जोखिम भएकोले ढोरपाटन जाँदा पैदलै हिँडेको वडा नम्बर ९ का भद्रमणी विकले बताए । साँघुरो ट्रयाक, उकालो र चिप्लोले धेरै सवारी दुर्घटनामा परेको जीप चालक खगेन्द्र विश्वकर्माको गुनासो छ ।

प्रकाशित : श्रावण १५, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?