म्याग्दी बाढीपहिरो– चिसो भुइँमा सुत्केरी र शिशु

घनश्याम खड्का

म्याग्दी — मराङको भिरालो पाखामा २५–३० घर झुरुप्प रहेको बस्ती हो राम्चे । पहिरोले नराम्ररी थलिएको यो बस्तीलाई अहिले शोकसँगै भोक र रोगले पनि गाँज्न थालेको छ ।

म्याग्दी बाढीपहिरो– चिसो भुइँमा सुत्केरी र शिशु

लेकको ठाउँमा निरन्तरको झरीबादलले सुत्केरी, नवजात शिशु र वृद्धवृद्धालाई चिसोले सताएको छ । पहिरोमा पर्दा सविना घर्ती पिउरे १० दिन, हरिमाया घर्ती पिउरे ४० दिन र गिरु घर्ती पिउरे दुई महिना १० दिनकी सुत्केरी थिए ।

‘पहिरोको विपत्मा ज्यान जोगाएर भाग्यौं, केही झिक्न पाएनौं । सामुदायिक भवनमा ओत त लागेका छौं, हरको (शरीर) कपडा फेर्न पाएका छैनौं । शिशुलाई फेर्न न्यानो कपडा छैन । आफैंले लगाएको गुन्युको अर्को फेरले बेरेर सुताउँछु,’ सविनाले भनिन्, ‘न बस्ने घर रह्यो, न खाने अन्न छ । कस्तो बेला जन्मेछ, छोरो ।’

असार २६ गतेको बाढीपहिरोमा ९ सदस्य गुमाएको राम्चेमा अझै राज्यका निकाय र दाताको ध्यान पुगेको छैन । पहिरोमा परेकी एक युवतीको ६ महिनाको गर्भै खेर गयो । तीन दिनपछि हेलिकोप्टबाट उद्धार गरी पोखरा पुर्‍याए पनि डाक्टरले शल्यक्रिया गरी गर्भबाट मृत शिशु निकाले । २२ वर्षीया ती युवतीको ढाडको मुनिपट्टिको हाड भाँचिएकाले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तीन जना सुत्केरीलाई धौलागिरि गाउँपालिका–६ राम्चेको सामुदायिक भवनमा राखिएको छ । पहिरोले विस्थापित करिब ५० परिवार राहतमा आएका पहेंला त्रिपालको ओत लागेर पाखोमा लस्करै बसेका छन् । ‘सुत्केरीहरूलाई सामुदायिक भवनमा राखेका छौं । बाँकी सबै बाहिर पाल टाँगेर बसेका छौं । निरन्तर झरीले जमिनले घाम देख्न नपाउँदा पालमुनिको भुइँ चिसो छ,’ गोरे सुनारले भने, ‘मेसमा संख्या ठूलो भएकाले दाउरा तथा पानी व्यवस्थापन गर्न समस्या भयो । त्यसैले अहिले अलग–अलग बस्न थाल्यौं ।’

भौगोलिक रूपमा जिल्लाकै दुर्गम मानिन्छ मराङ । राम्चे त्यहाँको पनि दुर्गम र अति कम उत्पादनशील भूगोल । दलितहरूको बाहुल्य रहेको यो बस्तीमा विकास कहिल्यै पुगेन । न त पहिरोपछि उद्धारकर्ता पुगे । क्षतिको विवरण संकलन गर्न प्रहरीसम्म पुगेन । एक–दुई खेप आएको २०–३० बोरा चामल सकिँदै गएको छ । सुत्केरी र नवजात शिशुले पौष्टिक आहार पाएका छैनन् ।

‘पुरिएका केही भाँडाबर्तन निकाल्यौं । तर लगाउने लत्ताकपडा हिलोमा गाडिएकाले निकाल्न मिलेन,’ अर्की सुत्केरी हरिमायाले भनिन्, ‘पोसिलो खाना नहुँदा दूध सुक्न थाल्यो, बच्चा भोकले रुन्छ ।’ सुत्केरीहरू आफन्तले दिएका जडौरी लगाएर बसेका छन् । पहिरोले वल्लो–पल्लो बस्तीसँग सम्पर्कविच्छेद भएको छ । दुई साता बित्दा गोरेटो बाटोसमेत खुलाइएको छैन । तत्काल बजार पुग्न पनि सम्भव छैन ।

बाटो नभएकैले सदरमुकाममा थुप्रिएको राहत गाउँ पुर्‍याउन सकिएको छैन । पहुँचमा रहेका अन्य बस्तीकाले भने राहत पाइरहेकै छन् । ‘हेलिकोप्टर उडेको देखिन्छ । क–कसले कहाँ राहत दिए हामीलाई जानकारी छैन । हाम्रो रोहवरमा आएका राहत मापदण्ड बनाई न्यायोचित रूपमा वितरण गरेका छौं । नपुग्दा छिमेकीसँग बाँडेर खाएका छौं,’ वडाध्यक्ष राजाराम सुवेदीले भने, ‘पहिरो प्रभावित तथा क्षतिको विवरण संकलन गरी सम्बन्धित निकायमा दिएका छौं ।’

धान नफल्ने राम्चेका प्रायः सबैको २–३ मुरी मकै र ३–५ मुरी कोदो फल्ने बारी छ । अलिअलि आलु पनि रोप्छन् । अधिकांशको जीवन कृषिबाटै धानिएको छ । केही वर्षदेखि स्थानीय युवा वैदेशिक रोजगारीमा पनि जान थालेका छन् । ‘आकाशमा हेलिकोप्टर घुम्छन्, वल्लो–पल्लो बस्तीमा राहत बाँड्छन्, जान्छन् । हामी दलितको बस्तीमा न हिजो कोही नेता आए न आज,’ पहेंलो पालमुनि बसिरहेका गंगालाल विकले थपे, ‘सबैको अवस्था उही हो ।’

असारयता बाढीपहिरोमा परी जिल्लामा ३१ जनाको मृत्यु भइसकेको छ । ५ जना बेपत्ता छन् ।

प्रकाशित : श्रावण १४, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?