हत्या आरोपमा किशोर पक्राउ

हरिराम उप्रेती

गोरखा — ७२ वर्षीया महिलाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन् । सहिद लखन गाउँपालिका–३ हटियाकी कृष्णकुमारी आलेको हत्या भएको हो ।

बिहीबार बिहान खेतमा पानी लगाउन गएकी उनी घर नफर्किएपछि खोजी गर्दा टाउकोमा चोट लागेको र स्याउलाले छोपिएको अवस्थामा शव भेटिएको थियो । प्रहरीले घटनाको ७२ घण्टापछि सोही ठाउँका ती किशोरलाई पक्राउ गरेको हो । उनले हत्यामा संलग्नता स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

प्रहरीले किशोरको बयान उद्धृत गर्दै जनाएअनुसार स्थानीय खाल्टेपानी धारामा पुगेकी महिला लडेपछि किशोर हाँसेको र त्यही क्रममा भनाभन भएको थियो । त्यही रिसमा किशोरले महिलालाई ढुंगाले हानेर हत्या गरी शव स्याउलाले छोपेर भागेका थिए । उनलाई आइतबार मनकामना वनौतीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । किशोरविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी गुरुङले बताए ।

अपांगता भएकी महिला बलात्कृत

अपांगता भएकी ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउँपालिका–८ मनका ३७ वर्षीय रामबहादुर थपलिया पक्राउ परेका छन् । पालुङटार नगरपालिका–५ स्थित प्रतीक्षालयमा शनिबार बोल्न र हिँडडुल गर्न नसक्ने महिलालाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई आइतबार पक्राउ गरिएको हो । आरोपितविरुद्ध सोमबार जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको एसपी गुरुङले बताए ।


प्रकाशित : श्रावण १३, २०७७ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?