कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसपालि पाकाको काँधमा यार्तुङ

आश गुरुङ

लमजुङ — माथिल्लो मनाङमा यति बेला मौसम खुलेको छ । पानी परेको छैन । यही मौसममा घोडा दौडाउने पर्व यार्तुङको रौनक चलिरहेको छ ।

यसपालि पाकाको काँधमा यार्तुङ

माथिल्लो मनाङबासीले बर्सेनि ४ दिनसम्म यार्तुङ मनाउँछन् । अविवाहित युवक यसको संयोजक बन्छन् । संयोजकलाई स्थानीय भाषामा ‘नन्दी’ भनिन्छ । पर्वको खर्चपर्चको व्यवस्थापन तिनैले गर्नुपर्छ । तर, यस वर्ष परिस्थिति फरक बन्यो । युवाले सञ्चालन गर्न नसक्ने भएपछि पर्व हाँक्ने जिम्मेवारी पाकाको काँधमा आएको छ । ५५ वर्ष उमेरका चार स्थानीय संयोजक बनेका छन् । नन्दीलाई सहयोग गर्ने ४ जना पनि पाकै उमेरका छन् । उनीहरू अर्को वर्ष नन्दी बन्नेछन् ।

सोलखुम्बु घर भए पनि बिहेपछि ३ दशकभन्दा बढी समयदेखि यहीँ बस्दै आएका मनबहादुर राईले भने, ‘पोहोरसम्म केटाहरूले गरेका थिए । यस वर्ष हामीलाई सुम्पिए । गाउँलेले तोकेपछि नाइँ भन्न मिल्दैन ।’


राई, मनाङ गाउँकै कान्छा (चटपटे) गुरुङ, वाङ्गेल गुरुङ र बलबहादुर भुजेल यसपटकका लागि नन्दी छन् । नन्दीका सहयोगी एवं पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार शुक्रबारदेखि पर्व चलिरहेको छ । यो रौनक आज सोमबारसम्मै रहन्छ । तर यसपालि पहिलेजस्तो पर्व हेर्ने पर्यटक छैनन् । ‘कोरोना संक्रमणले गर्दा यस वर्ष मुस्ताङी आएनन् । पर्यटक हुने कुरै भएन,’ उनले भने ।

पर्वमा १६ देखि ५५ वर्ष उमेरसमूहका सबैलाई घोडा दौडाउन उर्दी गरिएको छ । अटेरी गर्नेलाई प्रत्येक दिन १ हजार रुपैयाँ जरिवाना तोकिएको छ । यो पनि पर्वलाई निरन्तरता दिनका लागि गरिएको बताउँछन् विनोद गुरुङ । जुठो परेकालाई घोडा दौडाउनुपर्ने बाध्यता छैन ।


यसपटक करिब १ सय जनाले घोडा दौडाएका छन् । ‘हामी आफैंले घोडा दौडाएका छौं । काठमाडौं–पोखराबाट पनि केही युवा फर्किए । पाका पनि सहभागी भएकाले यार्तुङ पर्व निकै रोमाञ्चक बनिरहेको छ,’ उनले भने । मनाङ गाउँ र टंकी गाउँ मिलेर हरेक वर्ष यार्तुङ पर्व मनाइँदै आएको छ ।

मनाङ र भ्राकाको बीचको समथर ठाउँमा घोडा दौडाइएको छ । घोडा दौडाउनेले थरीथरीका कला देखाउँछन् । परम्परागत पोसाक लगाएर मध्याह्न घरबाट निस्किएकाहरू २ बजेतिर त्यहाँ पुग्छन् । ३ बजेदेखि घोडचढीहरू यार्तुङको गीत गाउँछन् । त्यसपछि घोडा दौडाउने काम सुरु हुन्छ ।


५ बजे घोडा चढेर उनीहरू आ–आफ्नो घर फर्किन्छन् । अन्तिम दिन घोडा चढेर गुम्बामा गई पूजापाठ गर्नुका साथै रोटी र सगुन खाएर नाचगान गर्ने चलन छ । स्थानीयका अनुसार गुम्बा जाँदा युवाले आफ्नो पछाडि मन परेका व्यक्तिलाई समेत राख्ने गर्छन् । पूजा गरी फर्केर लामाबाट वाङ (अभिषेक) थापेपछि पर्व समापन हुने स्थानीय बताउँछन् ।


बर्खामा खेतीकिसानी गर्नुपर्दा बढी दुःख हुने भएकाले रमाइलो गर्न यार्तुङ मनाइने गरेको मनाङ गाउँका पूर्व म्हिथेवा (गाउँ प्रमुख) कर्मा गुरुङ बताउँछन् । उनका अनुसार यो पर्वले बर्खायामलाई बिदाइ गर्छ । बाली लगाएपछि थकान मेटाउन परापूर्वकालदेखि हरेक वर्ष यार्तुङ मनाइने गरेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । मनाङसँगै भ्राका, पिसाङ, चामेलगायत गाउँमा यो पर्व मनाइन्छ । सुरुमा मनाङ गाउँमा मनाएपछि मात्रै अन्य गाउँमा यो पर्व मनाउने गरिन्छ । चामेमा भने फरक समयमा मनाउने गरिन्छ ।

प्रकाशित : श्रावण १२, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?