बागलुङमा पहिरो, दुई जना बेपत्ता

प्रकाश बराल

बागलुङ — शनिबार राति खसेको पहिरोले तीनवटा सवारी साधन पुरिएका छन् भने पहिरोमा दुई जना युवक बेपत्ता भएका छन् ।


बागलुङ नगरपालिका–१ को निरयघाट जाने सडकमा खसेको पहिरोले ट्याक्टरलाई कालीगण्डकी नदीमा पुर्‍याएको छ । एउटा टिपर र एउटा डोजर पुरिएका छन् । डोजरका अपरेटरले भागेर ज्यान जोगाएका छन् । ट्याक्टरका चालक रोशन नेपाली र टिपरका चालक निर्मल पुन हराएका छन् ।

राति नै प्रहरी, सशस्त्र प्रहरी र सेनासहित स्थानीय घटनास्थलमा पुगेर उद्धार थालेका थिए । निरन्तर पहिरो खसेकोले जोखिम भएपछि बिहानसम्म उद्धारको काम सफल हुन सकेको छैन । बिहान प्रहरीले एस्काभेटर लगेर उद्धारमा गएको छ । बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । वर्षात नभए पनि सुख्खा पहिरो खसिरहेको उनले बताए ।


प्रकाशित : श्रावण ११, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?