१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बजेट रकमान्तर गर्न लागिएको भन्दै वडा कार्यालयमा ताल्चा

हरिराम उप्रेती

गोरखा — स्वास्थ्य चौकीका लागि आएको बजेट रकमान्तर गर्न लागिएको भन्दै स्थानीयले बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा ताल्चा लगाइदिएका छन् ।

बजेट रकमान्तर गर्न लागिएको भन्दै वडा कार्यालयमा ताल्चा

सौरपानी स्वास्थ्य चौकीलाई अस्पताल निर्माणका लागि आएको रकम रकमान्तर गर्न लागिएको भन्दै बुधबार सौरपानीमा रहेको वडा कार्यालयमा स्थानीयले ताल्चा लगाएका हुन् ।

संघीय सरकारबाट आएको ४ करोड २ लाख रुपैयाँको योजना कार्यान्वयनका लागि पटकपटक वडा कार्यालयलाई ताकेता गर्दा पनि प्रक्रिया अगाडी नबढाएपछि बाध्य भएर वडा कार्यालयमा ताला लगाइएको स्थानीय मनिस पनेरुले बताए । सौरपानी स्वास्थ्य चौकीको शिर्षकमा आएको रकम हुडिखोलामा बन्‍ने अस्पतालका लागि खर्च गर्न लागेपछि विरोध गरिएको उनले बताए । ‘योजना जुन स्वास्थ्य चौकीको शिर्षकमा आएको छ, त्यहीँ खर्च हुनुपर्‍यो भन्ने हाम्रो माग हो,’ उनले भने ।

वडाकै स्वास्थ्य चौकीमा उक्त रकम खर्च गर्नुपर्नेमा आफू सहमत रहेको वडाध्यक्ष भिमबहादुर गुरुङ बताए । ‘सौरपानीको स्वास्थ्य चौकीको स्तरोन्नतीमा छुट्टाइएको रकम हुडिखोलाको अस्पतालमा खर्च गर्दा वडाको स्वास्थ्य चौकी नै नरहने अवस्था आउँछ, वडाको स्वास्थ्य चौकी खारेज हुने अवस्था आउन दिँदैनौं,’ गुरुङले भने, ‘यस विषयमा स्थानीयसँग छलफल गर्ने तयारीमा थिएँ, म बाहिर भएका बेला ताल्चा लगाइसक्नुभएछ ।’

स्थानीयसँग छलफल गरेर विवाद समाधान गर्ने बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । पालिकास्तरीय १५ शय्याको अस्पताल हुडिफाँटमा बनाउने गाउँसभा र गाउँ कार्यापालिका बैठकबाट निर्णय भइसकेको उनले बताए । उनले भने, ‘तर योजनाको शिर्षक सौरपानी स्वास्थ्य चौकीको स्तरोन्नती भनेर आइदिँदा समस्या भयो ।’

शुक्रबार स्थानीयसँग छलफल गरेर नै विवाद समाधान र ताल्चा खोलिने उनले बताए ।

प्रकाशित : श्रावण ८, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?