लमजुङको पल्लोटारीमा थप २ घर पुरिए

आश गुरुङ

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ तरापु पल्लोटारीमा पुनः पहिरो खस्दा २ घर पुरिएका छन् । ७ घरमा बस्न नमिल्ने गरी पहिरोको लेदो पसेको छ ।

लमजुङको पल्लोटारीमा थप २ घर पुरिए

मंगलबार र बुधबार गरी १९ घर पहिरोले पुरिएको उक्त ठाउँमा बिहीबार पुनः पहिरो खस्दा २ घर पुरिएको र ७ घरमा क्षति पुगेको वडाअध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।

उनका अनुसार २ घरको पहिरोले पुरै बगाएको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सो गाउँका ८० घरपरिवारलाई स्थानान्तरण गरी स्कुल, सामुदायिक भवन तथा आफन्तकोमा राखिएको छ । ८० घरका ४ सयजना बढीलाई खानाको व्यवस्था गाउँपालिकाले गरेको छ ।

डीएसपी गंगाबहादुर थापाका अनुसार करिब ५ सय मिटर माथिबाट खसेको पहिरोले स्थानीयको चौपाया पुरिनुका साथै अन्य सामानहरु पुरेको छ । बाढीपहिरोबाट जोगिन भाग्ने क्रममा बुधबार ८ जना घाइते भएका थिए । ‘पहिरो अहिले पनि खसिरहेको छ । उक्त ठाउँमा अझै पहिरोको समस्या छ । गाउँ वरपरका स्थानीयलाई पनि सतर्क भएर बस्न भनेका छौं,’ उनले भने ।

यो पनि पढ्नुहोस्ः

लमजुङमा पहिरोले १८ घर पुरिए, जोखिमको आकलनले गाउँले जोगिए

प्रकाशित : श्रावण ८, २०७७ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?