पर्वतमा पहिरो पन्छाएर सडक खुलाइयो

अगन्धर तिवारी

पर्वत — कुस्मा नगरपालिका तथा जलजला गाउँपालिकामा पहिरोले अवरुद्ध सडक बिहीबार दिउँसोदेखि खुलाइएको छ । मध्यपहाडी लोकमार्ग आयोजना र सडक डिभिजन बागलुङले पहिरो पन्छाएर यातायात सञ्चालन गराएका हुन् ।

कुस्मा–२ र जलजलामा बुधबार राति पहिरो खसेर सडक थुनिएको थियो । बिहानैदेखि एक्स्काभेटर लगाएर पहिरो पन्छाइएको मध्यपहाडी आयोजनाको पर्वतस्थित कार्यालयका प्रमुख आशिष थापामगरले बताए । केही दिनयता सडकको पहिरो हटाउनकै लागि एउटा एक्स्काभेटर र दुईवटा ट्रिपर तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै जलजला–७ केराबारी र वडा नं ४ लामाखेतको पहिरो हटाउन बागलुङस्थित सडक डिभिजन तथा गाउँपालिकाले सहकार्य गरेका थिए । सडक डिभिजनले सानो एक्स्काभेटर पठाएपछि गाउँपालिकाले ठूलो चेनवाला एक्स्काभेटरसमेत प्रयोग गरेर बाटो खुलाएको अध्यक्ष रामकृष्ण मल्लले बताए ।

लामागरामा पहिरोसँगै खसेको ग्याबिन जाली र फुस्रे खोलाको लेदो हटाउन समय लागेको डिभिजन कार्यालय प्रमुख रामेश्वर लम्सालको भनाइ छ । उनका अनुसार बाटो खुलेसँगै दिउँसो १ बजेतिर यातायात सञ्चालनमा आएको छ ।


प्रकाशित : श्रावण ८, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?