कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरोले पर्वतमा मध्यपहाडी र मालढुंगा–बेनी सडक अवरुद्ध

अगन्धर तिवारी

पर्वत — पहिरोले बिहीबार बिहानैदेखि मध्यपहाडी र मालढुंगा–बेनी सडक अवरुद्ध भएका छन् । कुस्मा नगरपालिका तथा जलजला गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेको हो ।

पहिरोले पर्वतमा मध्यपहाडी र मालढुंगा–बेनी सडक अवरुद्ध

प्रहरीका अनुसार कुस्मा नगरपालिका–२ नयाँपुलमा खसेको पहिरोले मध्यपहाडी सडकमा आवागमन रोकिएको छ । चार दिनअघि ठूलो ढुंगा खसेर थुनिएको सडकमा बुधबार राति फेरि पहिरो खसेको हो । त्यस्तै मालढुंगा–बेनी सडकको ३ ठाउँमा पहिरो खसेको छ । जलजला–७ केराबारी, लामागरा तथा वडा नम्बर ४ लामाखेतको फुस्रेखोलामा बाढीसहित पहिरो गएको छ ।

पहिरोसँगै मिलनचोक–धाइरिङ सडकमा टेवापर्खालका लागि लगाइएका लेयर जालीसमेत खसेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । उनका अनुसार आसपासका दर्जनभन्दा बढी घरमा बाढीसहित लेदो पसेको छ । ‘राति चार–पाँच घण्टा मुसलधारे पानी परेको थियो,’ उनले भने, ‘धन्न कसैका घरमा क्षति हुन पाएन ।’ पहिरो खस्न थालेपछि स्थानीय रातभर जाग्राम बसेको उनले बताए ।

नयाँपुलको पहिरो हटाउन मध्यपहाडी लोकमार्गको एक्स्काभेटर पठाइएको प्रहरी निरीक्षक बुद्धि सुवेदीले बताए । ‘नयाँपुलमा केही समयमै खुलाइन्छ,’ उनले भने, ‘बेनी जाने सडकमा समस्या छ । सडक डिभिजनसँग कुरा भइरहेको छ । उसैले हटाउने हो । कति बेला हुन्छ, टुंगो छैन ।’

बागलुङस्थित सडक डिभिजन कार्यालयले हेर्दै आएको उक्त सडकमा एकैपटक खसेका ठूल्ठूला पहिरो हटाउन चासो नदेखाएको स्थानीयको गुनासो छ । ‘रातिदेखि खसेको पहिरो अझै हटाउने छाँटकाँट छैन,’ एक स्थानीयले भने, ‘समस्या पर्दा सडक डिभिजनले चासै दिँदैन ।’ कार्यालयले भने जानकारी पाउनेबित्तिकै मेसिन पठाएको दाबी गरेको छ । ‘हामीसँग भएको मेसिन पठाएका छौं,’ डिभिजन प्रमुख रामेश्वर लम्सालले भने ।

प्रकाशित : श्रावण ८, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?