पहिरोले पुरिएर तनहुँमा दुई जनाको मृत्यु [अपडेट]

सम्झना रसाइली

तनहुँ — अविरल वर्षासँगै गएको पहिरोले भानु नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । भानु–९ सिमलगैह्रामा घर माथिबाट आएको पहिरोमा ८० वर्षीया तिलमाया धराली र उनकी १५ वर्षीया नातिनी त्रिप्साको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । 

उक्त पहिरोमा ८० वर्षीया तिलमायाको घटनास्थलमै र १५ वर्षीया त्रिप्सालाई गम्भीर अवस्थामा उद्धार गरी उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍...

अविरल वर्षाले ल्याएको पहिरोमा परेर जिल्लाको भानु नगरपालिकामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पहिरोले पुरिएर मृत्यु हुनेमा भानु–९ सिमलगैराकी ८० वर्षीया तिलमाया धराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमाथिबाट आएको पहिरोमा पुरिएकी उनकी १७ वर्षीया नातिनी त्रिप्साको भने जीवितै उद्धार भएको जिल्ला प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । उनले भने, ‘त्रिप्सालाई डुम्रे अस्पतालमा उपचारको लागि ल्याइएको छ र उनको अवस्था 0चिन्ताजनक नै छ ।’

जिल्लामा पहिरोका कारण करिब २० घर विस्थापित भएको प्रहरीले जनाएको छ । खोला बढेर आएको बाढीले करिब ४० घरलाई आंशिक क्षति पुर्‍याएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

यस्तै, गत हप्ता पहिरोमा पुरिएका व्यास नगरपालिका–९ माझफाँटका राजेश थापा भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हालसम्म तनहुँमा पहिराले पुरिएर १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण ५, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?