कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अब पोखरामै चिकित्सा शिक्षामा स्नातकोत्तर

दीपक परियार

पोखरा — पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबारदेखि चिकित्सा शिक्षामा स्नातकोत्तर (एमडी/एमएस) को कक्षा सुरु गरेको छ । स्थापनाको साढे ४ वर्षपछि प्रतिष्ठानले पढाइ सञ्चालन गरेको हो ।

अब पोखरामै चिकित्सा शिक्षामा स्नातकोत्तर

स्नातकोत्तर अध्ययन गर्नेमा खुलातर्फका १२ र सरकारीतर्फका ५ गरी कुल १७ विद्यार्थी छन् । हाल स्नातकोत्तरबाट सुरु गरेको प्रतिष्ठानले एमबीबीएस, नर्सिङ, जनस्वास्थ्य, एलाइड हेल्थ साइन्सेज, डीएम/एमसीएचजस्ता विशेषज्ञ कार्यक्रम सञ्चालन गर्न पूर्वाधार तयार गर्ने कार्य अगाडि बढाएको छ । प्रतिष्ठानले एमडी/एमएस गरेका क्षेत्रीय अस्पतालका सम्पूर्ण चिकित्सकलाई शिक्षकको जिम्मेवारी दिएको छ । एमडी/एमएसको पढाइ सञ्चालन गर्न खोजेका ६ विभाग मेडिकल, सर्जिकल, अर्थोपेडिक, गाइनोकोजोली, पेडियाट्रिक र एनेस्थेसियाका चिकित्सकलाई मेडिकल काउन्सिलले तोकेको योग्यता, अनुभव र शोध कार्यको आधारमा प्रोफेसर, एसोसियन प्रोफेसर, असिस्टेन्ट प्रोफेसर र लेक्चररको समेत जिम्मेवारी प्रदान गरेको छ । प्रतिष्ठानले स्किल ल्याबको निर्माण गरिरहेको उपकुलपति बुद्धिबहादुर थापाले बताए ।

०७५ असोजमा नेपाल मेडिकल काउन्सिलले निरीक्षण गरी स्नातकोत्तर तहको अध्यापनका लागि स्वीकृति प्रदान गरेको थियो । काउन्सिलको ०७६ असार ५ को पूर्ण बैठकले प्रतिष्ठानलाई स्नातकोत्तर तहको अध्यापनका लागि चिकित्सा शिक्षा आयोगमा १७ सिट सिफारिस गरेको थियो । आयोगको ०७६ असोज १ मा प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकबाट १७ सिट स्वीकृत गर्ने निर्णय भयो । आयोगको कार्यकारी समितिको ०७६ असोज १० को निर्णयअनुसार जनरल सर्जरीतर्फ ४, प्रसूति तथा स्त्रीरोगतर्फ ४, हाडजोर्नीतर्फ २, जनरल मेडिसिनतर्फ २, बालरोगतर्फ २ र एनेस्थेसियोलोजीतर्फ ३ गरी १७ सिट स्वीकृत भएको थियो ।

प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राज्ञिक कार्य सञ्चालनका लागि सहमति लियो । प्रतिष्ठानका सहायक डिन रविप्रसाद रेग्मीको संयोजकत्वमा परीक्षा समिति गठन गरियो । कुल १७ मध्ये नेपाल सरकारतर्फका चिकित्सकलाई ९ र खुलातर्फका चिकित्सकलाई ८ सिट हुने गरी गत फागुन २५ मा प्रवेश परीक्षा गरिएको थियो ।

कुलपति थापाले सरकारी चिकित्सकलाई छुट्ट्याइएको कोटा पूर्ति नभएपछि खुलालाई अवसर दिइएको बताए । स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको उनको भनाइ छ । ‘स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ उनले भने । हाल प्रतिष्ठानको प्राज्ञिक जनशक्तिमा प्राध्यापक १०, सहप्राध्यापक १३, सहायक प्राध्यापक ८ र लेक्चरर ४६ गरी ७७ जना छन् ।

प्रकाशित : श्रावण २, २०७७ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?