कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बेपत्ता युवक सत्र वर्षपछि घर फर्किए

प्रकाश बराल

बागलुङ — रोजगारीका लागि विदेश गएपछि बेपत्ता भएका भएका बागलुङका एक युवक १७ वर्षपछि घर पुगेका छन् । बागलुङ नगरपालिका–३ मूलपानीका ३५ वर्षीय नगेन्द्र पन्तलाई मानव सेवा आश्रमले घर लगिदिएको हो । 

बेपत्ता युवक सत्र वर्षपछि घर फर्किए

रोजगारीका लागि २०६० सालमा कोरिया पुगेका पन्त एक वर्ष नपुग्दै परिवारसँग सम्पर्कविहीन भएका थिए । काठमाडौंको सडकमा अलपत्र भेटिएपछि उनलाई आश्रमले संरक्षणमा लिएको थियो ।

आश्रमको बागलुङ शाखामा ५ महिना बसेपछि उनले आफ्नो घर बागलुङकै मूलपानी रहेको बताए । त्यसपछि आश्रम सञ्चालक सुमीरा लामाले उनलाई घर लगिदिएकी हुन् ।

हराएको छोरो सत्र वर्षपछि फर्केर आउँदा परिवारमा खुसी छाएको छ । ‘हामीले आस मारिसकेका थियौं, कसरी आइपुग्यो, भगवान्ले ल्याए होला,’ आमा रूपाले भनिन्, ‘घरसम्म ल्याइदिने नै मेरा भगवान् हुन् ।’ उनी आएको देखेर छिमेकी र परिवारका सदस्य पनि आश्चर्यमा परेका छन् ।

पन्त उनी कोरियाबाट कसरी फर्किए र किन बेपत्ता भए भन्नेबारे अझै केही खुलाउन चाहँदैनन् । गत माघमा काठमाडौंको सडकमा अलपत्र भेटिएपछि उनलाई आश्रम सञ्चालकले ल्याएर राखेका थिए । ‘धेरै नबोल्ने, घर ठेगाना पनि नबताउने भएपछि आश्रममा राखेका थियौं,’ लामाले भनिन्, ‘इमानदार देखेर पारिश्रमिक दिई आश्रममै रोजगारी दिन खोज्दा मेरो घर यहीँ हो भनेर बताउनुभयो ।’

पन्त घर पुग्दा उनका पिताको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका एक भाइ छन् । लामो समयपछि घर फर्केकाले पन्त अहिले बाबुको काजक्रियामा बसेका छन् ।

आश्रममै तमानखोला–२ बुंगादोभानका ५५ वर्षीय अर्का व्यक्ति पनि छन् । उनको परिवारका सदस्यसँग सम्पर्क भएपछि घर पठाउने तयारी भएको लामाले बताइन् ।

आश्रममा अहिले ६ बालबालिकासहित ४० जना आश्रित छन् । आश्रममा सडकमा अलपत्र भेटिएका, अपांग, असहायलाई राख्ने गरिएको छ । आश्रमका बालबालिकालाई विद्यालयमा भर्ना गरेर पढाउने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित : श्रावण १, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?