बागलुङमा बर्सेनि सडकसँगै बग्छ करोडौं लगानी
बागलुङ — अघिल्लो वर्ष २ करोड लगानी भएको ग्रामीण सडकमा चालू वर्ष पनि बडिगाड गाउँपालिकाले १ करोड लगानी गर्यो । तर ग्वालीचौरदेखि जलजला हुँदै रणसिंकिटेनी जोड्ने उक्त सडकमा अहिले सवारी गुड्दैनन् । वर्षा लागेसँगै दैनिकजसो पहिरो खसेर अवरुद्ध हुने गरेको छ ।
दशकअघि नै ट्र्याक खुलेको यो सडक मर्मत र चौडा पार्न अघिल्ला वर्ष पनि एक करोडका दरले लगानी हुँदै आएको थियो । यहाँका अन्य ग्रामीण सडक पनि अहिले पूर्ण ठप्प छन् । चालू वर्षको बजेटले रणसिंकिटेनीतर्फ एक किमि ट्र्याक थपिएको छ । अरू बजेट सडक मर्मतमै खर्चिइएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । झन्डै २५ किमि ट्र्याक खुलिसकेको यो सडक वर्षातमा क्षतविक्षत हुने गरेको छ । सडकबाट बगेर आउने बाढीले मध्यपहाडी लोकमार्गमा पनि क्षति पुग्दा खर्च थप बढिरहेको छ । माथिल्ला घुम्तीबाट खस्ने पहिरोले तल्ला घुम्ती भत्काएको छ । सडकमा नाली नकाटिएको र रिटेनिङ पर्खाल नभएकाले बर्सेनि यो जोखिम मोल्नुपरेको पाइजा बताउँछन् । ‘कसरी सुरक्षित बनाउने भनेर केही स्थानमा संरचना बनाएका पनि छौं तर भूगोलको कठिनाइले वर्षातमा सधैं सास्ती भइरहेको छ,’ उनले भने, ‘घुम्ती सुधार गर्ने र पानीको निकास दिगो बनाउने योजना पूरा नहुँदा सास्ती बढेको हो ।’ केही खण्डमा पक्की नाली बनाएर पानी तर्काइन थालेको उनले बताए । सिंगो सडक बनाउन गाउँपालिकाको बजेटले धान्न नसकेकाले प्रदेश र संघसँग माग गरिए पनि पाउन नसकेको उनले गुनासो गरे ।
अहिले गाउँपालिकाको सबैभन्दा धेरै बजेट यही सडकमा लगानी भइरहेको छ । तर ग्रेड नमिलेको, साँघुरा घुम्ती र भिरैभिरको बाटो भएकाले जोखिम मोल्नुपरेको स्थानीयले बताए । ग्वालीचौरका अधिकांश बस्तीमा पनि यो सडककै कारण पहिरोको जोखिम बढिरहेको छ । ‘धेरै वर्षात भएका बेला माथिबाट पहिरो खस्छ कि भनेर डराउनुपर्छ,’ स्थानीय होटल व्यवसायी ज्ञानेन्द्र गलालले भने, ‘पहिरो खस्यो भने बस्ती सखाप पार्छ ।’ केही वर्षअघि पनि यहाँ पहिरो खसेर दर्जनौं घर पुरिएका थिए । धेरै मानिसको ज्यान गएको थयो । ‘सडकको ट्र्याक खुलेदेखि अहिलेसम्म कति करोड खर्च भयो भन्ने लेखाजोखा छैन तर लगानीको उपलब्धि पनि देखिएको छैन,’ जलजलाका भूपाल श्रीसले भने, ‘गाउँपालिकाको काममा जाँदा सधैंको सास्ती छ । पैदल बाटो पनि बिग्रेका छन् ।’
गाउँपालिकाको मुख्य सडक भएकाले जलजला, ग्वालीचौरको केही खण्ड, रणसिंकिटेनी र सिसाखानी पुग्न यही बाटो हिँड्नुपर्छ । स्थानीय बासिन्दा वर्षातमा नुन, तेल र खाद्यान्न पिठ्युमै बोक्न बाध्य छन् । हरेक वर्ष डोजर लगाउने प्रवृत्ति अन्त्य गरेर पक्की संरचना बनाउने भनिए पनि साना घुम्ती चौडा पार्न खोज्दा पहिरोको समस्या बल्झेको उपाध्यक्ष अमरबहादुर श्रीसले बताए । ‘सडकमा संरचना बढी बनाउने लक्ष्य राखिएकाले तुलनात्मक रूपमा कम क्षति छ,’ उनले भने, ‘जोखिम भने घटेको छैन ।’
केही दिनयता सिगानादेखि बरेङ हुँदै गुल्मी जोड्ने, मालढुंगादेखि भैरवस्थान जाने सडक, कुस्मीसेरादेखि बरेङ जाने र अन्य धेरै ग्रामीण सडकमा पनि दर्जनौं पहिरोले स्थानीयलाई सास्ती दिएको छ । ती सडकमा गरिएका लगानी पनि सदुपयोग भएको छैन । ‘असारको झरी सुरु भएपछि सडक खन्न थालिन्छ, त्यसैले अहिले बग्ने हो,’ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘स्थानीय तहको बजेटमा बन्ने सडक हिउँदमा बनाउन सके रकम पनि बच्ने, पहिरो पनि थामिने हुन्छ ।’ केन्द्र सरकारको झैं बजेट कुरेर बस्ने भए स्थानीय सरकारको औचित्य नभएको उनले टिप्पणी गरे ।
प्रकाशित : असार ३०, २०७७ १२:५०