१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पर्वतमा पहिरोले मध्यपहाडी लोकमार्ग फेरि थुनियो

अगन्धर तिवारी

पर्वत — निर्माणाधीन मध्यपहाडी लोकमार्गको कुस्मा–२ खुर्कोटस्थित खण्डमा मंगलबार फेरि पहिरो खसेको छ । अर्मादीनजिकै खसेको पहिरोले बिहानैदेखि सवारीसाधन रोकिएका छन् ।

पर्वतमा पहिरोले मध्यपहाडी लोकमार्ग फेरि थुनियो

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझदेखिको झरी नरोकिएपछि अर्मादीको रिठेखोलानजिकैको घुम्तीमा पहिरो खसेको हो । सडक चौडा पार्न करिब सय मिटर माथिदेखि भत्काइएको पहरोबाट ढुंगासहितको पहिरो खसिरहेको प्रहरी निरीक्षक मनीष श्रेष्ठले बताए । ‘अहिले पनि पहिरो खसिराखेको छ,’ उनले भने, ‘खस्न रोकियो भने खुलाउने काम सुरु गर्छौं ।’ रिठेखोलामा ठूलो बाढी आएकाले सडक खुले पनि साना सवारी सञ्चालनमा समस्या हुने ट्राफिक प्रहरीले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि बिहानैदेखि बागलुङ, म्याग्दी तथा पर्वत, कास्कीलगायत स्थानबाट गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । बागलुङतर्फका सवारी अर्मादीखोला र पर्वततर्फका सवारी छमर्के घुम्तीआसपास रोकिएको कुस्मा–२ की वडा सदस्य शान्ति कुमालले बताइन् । ‘माथिबाट खसेको ठूलो ढिस्को थपक्क बसेको छ,’ उनले भनिन्, ‘ढुंगामाटो खस्न रोकिएकै छैन ।’ पहिरो नरोकिँदा पैदल यात्रु र आसपासको बस्तीमा समेत त्रास बढेको उनले बताइन् ।

मध्यपहाडी लोकमार्गको यो खण्ड एकतर्फी मात्रै सञ्चालनमा थियो । सडक चौडा पार्ने क्रममा भित्तामै गिट्टी, बालुवालगायत निर्माण सामग्री निस्किएपछि ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले आवश्यकताभन्दा धेरै खनेको थियो । अन्यत्र दुई लेनको यो सडक यही साँघुरो स्थानमा करिब चार लेन पुग्ने गरी चौडा बनाइएको छ । करिब सय मिटर माथिसम्म खारिएको पहरो अरू बेला पनि भत्किन सक्ने भन्दै स्थानीय चिन्तित छन् ।

लोकमार्गको पर्वत खण्ड मनसुन सुरु भएसँगै दैनिकजसो अवरुद्ध हुन थालेको छ । असारयता कुस्मा नगरपालिकाका सहस्रधारा, नयाँपुल, चुवा, दोबिल्ला तथा मोदी गाउँपालिकाको डिमुवा, तिलाहारलगायत स्थानमा दैनिकजसो पहिरोले सडक अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : असार ३०, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?