कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीनाथकोटमा एक महिनादेखि विद्युत अवरुद्ध

कान्तिपुर संवाददाता

गोरखा — ट्रान्सफर्मर बिग्रिएपछि सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटमा एक महिनायता विद्यूत अवरुद्ध भएको छ । झण्डै चार सय घरधुरीले विजुली बाल्न पाएका छैनन् । 

गाउँमा विद्युतीकरण हुन प्रयोग भएको तीन वटा ट्रान्सफर्मर बिग्रिएपछि गाउँ विद्युत विहीन बनेको वडा अध्यक्ष सुरज ढकालले बताए ।

विद्यूत नहुँदा कुटानी पिसानी, मोबाइल चार्च गर्नसम्म समस्या परेको छ । बिग्रिएको ट्रान्सफर्मर मर्मतका लागि ताकेता भइरहेको उनले बताए । ‘एकैचोटी तीन वटा ट्यान्सफर्मर जलेको छ,’ उनले भने,‘पुरानो पनि भयो, मर्मत सम्‍भारको पनि अभाव हो ।’

साविकको श्रीनाथकोट गाविसमा विद्युतीकरण र सञ्चालनको जिम्मा पवित्रा सामुदायिक सहकारी संस्थाले पाएको छ । बिग्रिएको ट्रान्सफर्मर मर्मतको काम भइरहेको र एकसाताभित्र सम्पन्‍न हुने सहकारीका अध्यक्ष सरोजबाबु ढकालले बताए । लकडाउनले गर्दा पनि ट्रान्सफर्मर मर्मतमा ढिलाइ भएको उनले बताए ।

प्रकाशित : असार २८, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्

पार्टी विभाजित हुन दिइने छैन : दाहाल

रमेशकुमार पौडेल

चितवन — सत्तारुढ नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार पनि गृहजिल्ला चितवनमै व्यस्त छन् । दाहाल शनिबार नारायणी र अन्य खोलाहरुमा आएको बाढीको प्रभाव हेर्न पश्चिम चितवनको मेघौली र माडी गए । उनले आइतबार मध्याह्न भरतपुर पार्टी कार्यालयमा जिल्लास्तरका नेता कार्यकर्तालाई सम्बोधन गरे । त्यपछि उनी पूर्वी चितवनतर्फ लागेका छन् । चितवन–३ दाहालको निर्वाचन क्षेत्र हो ।

पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै दाहालले पार्टी विभाजित हुन नदिइने बताए । स्थायी कमिटीको बैठक जारी नै रहेकोले निर्णय नहुँदै धेरै बोल्नु उचित नहुने भन्दै उनले मन्तव्य अगाडि बढाएका थिए । उनले आफूले भनेका कुरा धैर्यतापूर्वक सुन्न र केही गर्न भने त्यो अनुसार गरिहाल्न हतारो नगर्न निर्देशन दिए ।

अर्का पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भनेको कुरा सुन्न तर गर्न पनि हतारो नगर्न उनले अपिल गरे । ‘तपाईं कसैलाई पार्टी विभाजित भइहाल्छ कि भन्ने भयले पछि पो परिन्छ कि भनेर अगाडि जान खोज्नु भयो भने पछुताउनु पर्दछ । किनभने भोलि पार्टी एकताबद्ध हुँदा सहमति गरेर नेताहरु अगाडि बढ्दा किन हतारो गरिएछ भन्ने तपाईंलाई नपरोस्’ दाहालले भने । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीलाई दाहाल लगायतका नेताले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा मागेपछि पार्टीभित्र विवाद उत्कृर्षमा पुगेको हो ।

दाहालको गृहजिल्ला चितवनमा प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन पनि गरेका थिए । ओलीलाई प्रधानमन्त्रीबाट भारतले हटाउन खोजेको भन्ने मान्यता बोकेर समर्थकले पार्टीकै अन्य नेतालाई राष्ट्रियताविरोधी आरोप लगाउने गरेका छन् । दाहालले पहिला आफूलाई भन्ने गरिएको लम्पसारवादको प्रसंग निकाल्दै पार्टीमा कोही राष्ट्रघाती दलाल र कोही महान् राष्ट्रवादी भन्ने नभएको बताए । ‘हामी मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । मेरो नेतृत्वमा भएको स्थायी कमिटी बैठकमा सीमा समस्याको सम्बन्धमा सरकारले गरेका कामलाई धन्यवाद भनेकै हो । कामरेड केपी ओलीलाई धन्यवाद भनिएको छ । के यो राष्ट्रवाद, जिन्दावाद र मुर्दावादको कुरा हो’ दाहालले भने । त्यसैले यो बेला यता उता दौडेर यो र उ जिन्दावाद मुर्दावाद भन्ने भन्दा पार्टी एकता जिन्दावाद भन्न उनले आग्रह गरे ।

लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटेर नक्सा प्रकाशित गर्नमा पनि आफूले भूमिका खेलेको उनले बताए । ‘मलाई कुन अर्थमा गर्व छ भने मंसिर ४ मा मलाई पार्टी सञ्चालनको मुख्य जिम्मासहित कार्यकारी अध्यक्ष तोकियो । यो ठीकसँग कार्यान्वयन त भएन तर लगत्तै भएको स्थायी कमिटी बैठकमा भारतले नक्सा प्रकाशित गरेपछि हामीले पनि तुरुन्त हाम्रो भूमि समेटेर नक्सा प्रकाशित गरौं भन्ने निर्णय गराएँ । यो लम्पसारवाद हो’ दाहालले भने ।

पार्टी एकताबद्ध हुन नदिन हिजोदेखि नै प्रयासहरु भएको उनले बताए । चुनावपछि आफूलाई पाँच वर्षे पूरा कार्यकालका लागि प्रधानमन्त्री मान्न अन्य दलहरु तयार भएका बेलामा पनि आफू त्यता नलागेको दाहालले बताए । ‘कुनै पनि पार्टीको विकास र बिनासमा बाहृय कारणले पनि भूमिका त खेल्छन् तर प्रमुख कारण आन्तरिक हुन्छ । यो आधारभूत नियम हो । त्यसैले षड्यन्त्रहरु हामीले नै चिर्ने हो’ दाहालले भने ।

प्रकाशित : असार २८, २०७७ १६:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×