घरायसी विवादमा एकको हत्या

लालप्रसाद शर्मा

पोखरा — कास्कीको मादी गाउँपालिका–४ घामनुङका ५५ वर्षीय नवराज सापकोटाले काका नाता पर्ने ७९ वर्षीय पीताम्बर सापकोटाको हत्या गरेका छन् । घरायसी विवादमा नवराजले खुकुरी प्रहार गर्दा पीताम्बरको घटनास्थलमै मृत्यु भएको हो । 

शनिबार साँझ घरमा खाना खाइरहेका बेला पीताम्बरमाथि आक्रमण भएको वडाध्यक्ष सत्यराज सापकोटाले बताए । उनका अनुसार सडक खन्ने विषयमा यसअघि सामान्य विवाद रहँदै आएको थियो । शनिबार नवराजकी छोरीले पीताम्बरको खरबारीमा गाई चराएको विषयमा भनाभन भएको थियो । पछि मादक पदार्थ सेवन गरी नवराजले पीताम्बरमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको वडाध्यक्ष सापकोटाले बताए ।

पीताम्बरको परिवारले हारगुहार गरेपछि घटनास्थल पुगेका साबिक थुमकोडाँडा गाविसका पूर्वउपाध्यक्ष ७५ वर्षीय केशवराज सापकोटामाथि पनि आक्रमण गरेका छन् । टाउकोमा तीनपटक खुकुरी हानिएका केशवराजको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष सापकोटाले बताए ।

यसैबीच हत्या आरोपी नवराजलाई भाग्दै गरेको अवस्थामा प्रहरीले आइतबार बिहान ५ बजे पोखरा–१३ कसेरीबाट नियन्त्रणमा लिएको छ । उनीविरुद्ध किटानी जाहेरी दिइएको वडाध्यक्ष सापकोटाले बताए । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले घटना भएको स्विकारे पनि सबै विवरण भने दिएनन् ।

प्रकाशित : असार २८, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?