पर्वतमा पहिरोले थुनिएको मध्यपहाडी एकतर्फी खुल्यो

अगन्धर तिवारी

पर्वत — मध्यपहाडी लोकमार्गको कुस्मा–८ चुवास्थित खण्डमा खसेको पहिरो पन्छाएर सवारी आवागमन एकतर्फी खोलिएको छ । आइतबार बिहान ठूल्ठूला ढुंगासहितको पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको थियो । 

पर्वतमा पहिरोले थुनिएको मध्यपहाडी एकतर्फी खुल्यो

जेसीभीले पहिरो पन्छाएर दिउँसो पौने १२ बजेबाट एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडक अवरुद्ध हुँदा बिहानैदेखि गन्तव्यतर्फ लागेका सवारी बीचमै अलपत्र परेका थिए । नेपाल प्रहरी, मध्यपहाडी सडक आयोजना कार्यालय र स्थानीयको प्रयासमा सडक खुलाइएको हो । दिउँसो एक बजेदेखि पूरै पहिरो हटाउन सुरु गरिने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक मनीष श्रेष्ठका अनुसार साँघुरो सडकको माथिबाट ठूल्ठूला ढुंगा खसेका कारणले पन्छाउन समय लागेको हो ।

सडक अवरुद्ध भएपछि पोखरा हुँदै पर्वत आउँदै गरेका सवारी दोबिल्ला र चुवाको फाँटमा रोकिएका थिए । यो सडकको पर्वत खण्डमा सबैभन्दा कठिन मानिएको चुवाको पहरो फुटाउन समस्या भएपछि निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले नेपाली सेनाको सहयोग लिएको थियो । सेनाको सहयोगमा गत फागुनमा विस्फोट गराउन सुरु भए पनि चैत ११ मा सुरु भएको लकडाउनका कारण काम रोकिएको छ ।



प्रकाशित : असार २८, २०७७ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?