कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाढीले बेंसीसहर–चामे सडकको लमजुङ खण्ड छियाछिया

मनाङ जाने एकमात्र सडक अवरुद्ध
आश गुरुङ

लमजुङ — बुधबार रातिको बाढी पहिरोले हिमाली जिल्ला मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडकको लमजुङ खण्ड छियाछिया बनाएको छ ।

बाढीले बेंसीसहर–चामे सडकको लमजुङ खण्ड छियाछिया

बाढी पूर्वानुमान महाशाखाले गत राती १ बजेअघि लमजुङको बेंसीसहर र खुदीबजारमा ४ घण्टा बढी वर्षा भएको उल्लेख गरेको छ । बढी बर्षा भएको ठाउँ बेंसीसहर–खुदी सडकमा सबैभन्दा बढी सडक क्षतविक्षत बनाएको स्थानीयले बताएका छन् । बाढी र पहिरोले सडक तथा कल्भर्टहरु बगाएपछि बेंसीसहरसँग उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका र सिंगो मनाङ जिल्लाको सडक सम्पर्क टुटेको छ ।

स्थानीयका अनुसार मर्स्याङदी गाउँपालिका ४ को स्याँगे, रामबजार र काप्रेभीरको २ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ । बेंसीसहर नगरपालिका–६ को उत्तीसघारी खरखरे भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । बेलौती बिसौनामा कल्भर्ट भासिएको छ ।

डीएसपी गंगाबहादुर थापाका अनुसार मनाङ जाने मुख्य ढोका बेंसीसहर नजिकै सहजीमा कल्भर्ट र सडक पहिरोले बगाएपछि वारपार हुन सकेको छैन । सडक कार्यालयको टीम र प्रहरी मिलेर खरखरेमा पहिरो पन्छाएर सडक मर्मतमा जुटेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । ‘अतिवृष्टि भएपछि बाढीपहिरोले सडक बगायो । हामी सडक खुलाउने प्रयासमा छौं,’ उनले भने ।

डुम्रे–बेंसीसहर–चामे सडक योजनाका इन्जिनियर सुरज महर्जनका अनुसार खरखरेमा माथिबाट एक्साभेटरले सडक मर्मत कार्य थालेको छ । बेलौती बिसौनाको स्ल्याब भासिएको र पुमाखोलामा पनि पुल र सडक भासिएकाले वैकल्पिक बाटो बनाउनुपर्ने उनले बताए । स्याँगेमा एस्काभेटर र डोजर लगाएर सडक खुलाउने काम सुरु गरिएको उनले बताए ।

मनाङ डीएसपी मेखबहादुर कुावरका अनुसार मनाङ क्षेत्रमा खासै समस्या भएको सूचना नआएको बताए । ‘बर्खा लागेपछि बाढीपहिरो त हुन्छ नै । सडक कहिले खुल्छ र कहिले बन्द हुन्छ भन्ने भर हुँदैन’ उनले भने ।

बेंसीसहर चामे सडक ६५ किलोमिटर रहेकोमा लमजुङखण्डको बेंसीसहरदेखि म्यार्दीखोलासम्म ३५ किलोमिटर र मनाङ म्यार्दीदेखि चामेसम्म ३० किलोमिटर पर्दछ । दुवै सडक खण्डमा वर्सेनी बर्खायाममा पहिरो झर्ने समस्या रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित : असार २५, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?