पहिरोको उच्च जोखिम भएपछि बस्ती सारियो

प्रतीक्षा काफ्ले

स्याङ्जा — अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेको वालिङ नगरपालिका–८ ढावाखोलाको बस्ती सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोको उच्च जोखिममा परेका बस्तीका ७ घरका परिवारलाई वडाकै अभिलिथुङमा अवस्थित विद्यालय भवनमा स्थानान्तरण गरिएको वालिङ नगरप्रमुख दिलिपप्रताप खाँडले बताए ।

अभिलिथुङ प्राविको नयाँ भवन निर्माण गरि सरेपछि छाडिएको पुरानो भवनमा उनीहरुलाई लगेर सुरक्षित तरिकाले राखिएको नगरप्रमुख खाँडले बताए । ‘बस्ती बस्‍न योग्य भएन,’ उनले भने, ‘अहिले पहिरोको उच्च जोखिम छ । पहिरोका कारण घर झुण्डिएका छन् । यसभन्दा पहिला २०७२ को भुकम्पका कारण पनि यो बस्तीमा असर पुर्‍याएको थियो । यिनीहरुलाई अहिले अस्थायी रुपमा सार्छौ ।’

नयाँ जग्गाको खोजी भइरहेको र सोही अनुसार योजना बनाएर एकीकृत स्थायी बस्ती निर्माण गरिने उनले बताए ।

नगरपालिकाको वडा नम्बर १३ स्थित कुसुण्डेको बस्ती पनि पहिरोको उच्च जोखिमा छ । यहाँका ३२ घरलाई पनि अन्यत्रै सार्ने काम भइरहेको नगरप्रमुख खाँडले बताए । बिहीबार सोही बस्तीलाई पनि विद्यालयको भवन, सामाजिक भवनहरुमा स्थानान्तरण गरिने प्रमुख खाँडले बताए । वालिङ नगरभित्र हालै जोखिम रहेका यी वस्ती सार्ने र अन्यत्र पनि जोखिम रहेका गाउँको खोजी कार्य भइरहेको खाँडको भनाइ छ ।

प्रकाशित : असार २४, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?