रिपोर्ट नआउँदै घर पठाइएका युवकको मृत्यु

प्रकाश बराल

बागलुङ — कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएका बागलुङका एक युवकको शनिबार राति मृत्यु भएको छ ।

लामो समयदेखि फोक्सोको समस्या भएका निसीखोला गाउँपालिका २ का २९ वर्षीय युवकको मृत्यु भएको हो । निसीखोला घर भए पनि उनलाई ससुराली रहेको ढोरपाटन नगरपालिका वडा नं. ४ पठाइएको थियो । उनी केही दिन ससुरालीस्थित घरमै थिए । वडा कार्यालयले थाहा पाएपछि छोरेगाउँ मावि क्वारेन्टाइनमा राखिएको थियो ।

शनिबार राति साढे १२ बजे उनको मृत्यु भएको वडाध्यक्ष तिलक पुनले बताए । ‘लामो समयसम्म भारतमा फोक्सोको उपचार गराएर फर्किएका रहेछन्,’ वडाध्यक्ष पुनले भने, ‘उनलाई बुर्तिवाङमै राखिएकोमा रातारात कसले घर पठाइदिएछ, थाहा पाएर हामीले फेरि क्वारेन्टाइनमा राखेका थियौं ।’

बुर्तिवाङबाट उनलाई प्रहरीको गाडीले घर लगिदिएको स्थानीयले बताए । मृतकको परिवारका ५ जनाको स्वाब संकलन गरेर पठाएकोमा तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ । मृतक र एक बालकको भने रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : असार २१, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?